Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

‘काठमाण्डाैमा बस्न नसकेका जहाज अब गाैतमबुद्ध विमानस्थलमा सजिलै अवतरण हुनेछन्’

रुपन्देही – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदाे जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यासायिक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेशन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

एरो थाईको क्यालिब्रेशन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एअरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले बताउनुभयो ।

आपत्कालीन अवस्थामा विमानस्थल प्रयोग गर्न सकिने

उहाँले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जहाज आकाशमै ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने बताउनुभयो । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाण्डाै आइरहनपर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गर्नुभयो । नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । अब भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनुपर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डअनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमताअनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्डमा बनेको अधिकारीको भनाइ छ । त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाण्डाैमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै यस विमानस्थलमा ल्यान्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्याङ्कमा आएका समस्या, विमानको पङ्खामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकूल मौसममा समेत सुरक्षित अवतरण गर्न सक्ने उहाँले बताउनुभयो ।  

नयाँ एअर रुट चाहिन्छ

विमानस्थलमा उडानका लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच सरकार–सरकार (जीटुजी) मार्फत काम भइरहेको तर तत्कालका लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यस विमानस्थलबाछ दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे तीन हजार मिटरको रहेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एअरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताउनुभयो । विमानस्थलमा उडान सुरु भएसँगै विश्वका बौद्ध धर्मावलम्बीहरू सिधै लुम्बिनीमा आउन सक्ने उहाँको भनाइ छ ।

जनशक्ति व्यवस्थापन

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताउनुभयो । उहाँले अध्यागमन, भन्सार, क्वरेण्टीन र सुरक्षा एजेन्सीहरूको त्यहीअनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताउनुभयो । विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताउनुभयो ।

विमानस्थलको व्यापार, प्रचारप्रसार

त्यस्तै महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरूसँग औपचारिक रूपमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कहरू प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । विमानस्थलको तथ्याङ्क प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उहाँको भनाइ छ । अधिकारीले अहिलेको अर्थतन्त्र बजार ‘बेस’ को अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गर्नुभयो । उहाँले आफ्नाे बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थल सञ्चालन

महानिर्देशक अधिकारीले विमानस्थल व्यावसायिक ढङ्गले सञ्चालन गर्दा  विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र काम निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलहरूको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको बताउनुभयो । अब यो संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै बिस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले बताउनुभयो । यो विमानस्थल निजी क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरू केलाउनुपर्ने अवस्था रहेको बताउनुभयो । विद्यमान कानुन नियमावली र बजारलाई हेरेर बढीभन्दा बढी काम गरिने महानिर्देशक अधिकारीकाे भनाइ छ । 

सरकारले भएको संरचनाबाट विमानस्थल राम्रो बनाउने भए पनि खोजेस्तो राम्रो बनाउने उत्तम उपाय निजी क्षेत्रलाई सञ्चालन गर्न दिने नै रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma