कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनमा आएको छ । त्रिविले शैक्षिक सत्र २०८०।८१ को लागि पाठ्यक्रम र मूल्याकंन शिक्षा विषयको लागि पढ्न इच्छुक विद्यार्थीहरूको लागि आवेदन खुल्ला गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष लंक बहादुर हमालले बताउनुभयो । क्याम्पसले एमएडको अनुमति केही समय पहिला लिएको भए पनि कोरोना लगायत विभिन्न कारणले सञ्चालन नभएकोले यस वर्ष देखि सुरु गरिएको हमालले बताउनुभयो । यस क्षेत्रमा विद्यार्थीहरूलाई स्नातकोत्तर पढ्न अन्य ठाउँमा जानुपर्ने बाध्यता अब हटेको उहाँले बताउनुभयो । सञ्चालक समिति र प्राध्यापकहरूको मेहनतका कारण जिल्लाको पश्चिमी क्षेत्रमा उच्च शिक्षा अध्ययनको गन्तव्य नेपाल आदर्श बहुमुखी क्याम्पस रहेको उहाँको दाबी छ । हमालले क्याम्पसमा फर्निचर,थप एउटा बस लगायत भौतिक संरचना समेत आवश्यक रहेकोले समाधानको लागि विभिन्न निकाय सँग माग गरिएको बताउनुभयो ।
क्यापसमा कम शुल्कमा स्नातकोत्तर अध्ययन गराउने योजना अनुसार सञ्चालन गरिएको क्याम्पस प्रमुख हेमराज शर्माले बताउनुभयो । आगामी वर्ष स्नातकोत्तर तहको लागि अन्य विषयहरूको पनि अनुमति आउने शर्माको भनाई छ । पाठ्यक्रम र मूल्याकंन शिक्षा विषयको आवेदन फारम खुल्ला भइसकेकोले विद्यार्थीहरूलाई अनलाइन मार्फत फारम भर्न एम एड कार्यक्रम संयोजक श्रीधर आचार्यले आग्रह गर्नुभयो । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई अवसर भएको भन्दै क्याम्पसमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया