

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन कपिलवस्तुका आठ पालिकाले बिदा दिएका छन् । कपिलवस्तु,शिवराज,विजयनगर,महाराजगंज,मायादेवी शुद्धोधन,यसोधरा गाउँपालिका र कृष्णनगर नगरपालिकाले सोमबार राममन्दिरको प्रतिष्ठाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
रामजानकी मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले बिदा दिने निर्णय गरिएको शिवराज नगरपालिकाका मेयर अजय थापाले बताए । पालिकाले एक सुचना जारी गर्दै स्थानीय विदा दिने निर्णय गरेको थापाले बताए । भगवान् राम नेपालको ज्वाइँ भएकाले राम मन्दिरको प्रतिष्ठाका दिन कृष्णनगर नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको नगर प्रमुख रजत प्रताप शाहले जनाएका छन् ।
विदा दिएका स्थानीय तहहरुले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन् । सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा बिदा दिइएको हो ।
सोमवार साझ शिवराज नगरपालिका चन्द्रौटा बजारमा दिप प्रज्वलन सगै भण्डाराको व्यवस्था गरिने भएको छ । कणेश्वरी मन्दिरमा पूजापाठ, रामकथा पाठ गरिने भएको छ । सोमवारकै दिन युवाहरुले र्याली लगायतका कार्यक्रमहरु गर्ने जनाइएको छ ।


प्रतिक्रिया