माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा :
सुकुम्बासी समुदायको अधिकारका लागि संघर्ष समिति र विभिन्न संघ संगठनहरूको आयोजनामा चन्द्रौटामा एक विशाल विरोध र्याली सम्पन्न भएको छ। यस विरोधले डिभिजन वन कार्यालय र सामुदायिक वनका क्रियाकलापप्रति कडा आलोचना गर्दै सुकुम्बासीहरूको मौलिक हकको संरक्षणको माग गरेको छ । विरोध सभामा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिवालय सदस्य प्रेम बिस्वकर्माले बुद्वभूमी नगरपालिकाका नागरिकहरूलाई उठिबास लगाउँदा राज्यका निकायहरूको मौनता अक्षम्य भएको बताउँदै गम्भीर असन्तोष व्यक्त गरे। “हामी यहाँका स्थायी बासिन्दा हौं, तर हाम्रो अस्तित्वमाथि प्रश्न उठाइँदैछ,“ उनले भने।
अखिल नेपाल सुकुम्बासी संघ क्रान्तिकारीका खेमान सिंह परियारले चुनावमा भोट माग्ने क्रममा गरिएको लालपुर्जा दिने आश्वासन पूरा नभएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। “राजनीतिक दलहरूले आश्वासन दिए, तर जब लालपुर्जा दिने बेला आयो, वन कार्यालयले उठिबास लगाउन थाल्यो। यो कहाँ सम्मको न्याय हो?“ परियारले प्रश्न गरे। संघर्ष समितिले राज्यलाई ७ दिने अल्टिमेटम जारी गर्दै सुकुम्बासीहरूको क्षतिपूर्ति र पुनर्बहालीको माग गरेको छ । परियारले चेतावनी दिँदै भने, “माग पूरा नभए कठोर आन्दोलन हुनेछ।“
उक्त विरोध र्यालीले सुकुम्बासी समुदायलाई एकताबद्ध गर्दै उनीहरूको हकका लागि संघर्षलाई थप सशक्त बनाएको छ। राज्यले यथाशीघ्र माग पूरा नगरे परिस्थिति अझ पेचिलो बन्ने संकेत दिएको छ। भुमीहिन संघ ,अखिल नेपाल सुकुम्बासी संघ, अखिल नेपाल सुकुम्बासी संघ क्रन्तिकारि,भुमी अधिकार श्रमिक संगठन,राप्रपा नगर सुकुम्बासी प्रतिनिधि एम बि सुनारको उपस्थिति रहेको थियो । संघर्ष समितिका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्ष र लालु खनालको स्वागत मन्तव्य रहेको थियो ।
प्रतिक्रिया