कपिलवस्तु , मंसिर ४ – नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल) शिवराजको प्रथम नगर सम्मेलन मंगलबार शिवगढीमा भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले नगर अध्यक्षमा पूर्ण बहादुर बुढा (निरज)लाई सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा बोम बहादुर घर्ती, समीक्षा विष्ट र सुहेल खान चयन भएका छन् भने सचिवमा सुमन गुरुङ, सह-सचिवमा आशिया थारु र कोषाध्यक्षमा सेनापति थारुलाई चयन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश सचिव कृष्ण अधिकारी (प्रकाश)ले समसामयिक राजनीतिक विषयमा धारणा राख्दै भ्रष्टाचार र अनियमितताले देशलाई गम्भीर संकटतर्फ धकेलेको बताए। उनले वर्तमान सरकार तस्कर र वेथितीलाई संरक्षण गरिरहेको आरोप लगाए। अधिकारीले वाइसिएललाई समाजका विकृति र विसंगतिको विरुद्ध दृढतापूर्वक आवाज उठाउँदै देशलाई सही दिशा दिन नेतृत्व गर्न आह्वान गरे।
नेकपा माओवादी केन्द्रका कपिलवस्तु संयोजक विष्णु बेल्वासेले माओवादी केन्द्र देशमा परिवर्तनको संवाहक भएको भन्दै आगामी चुनावमा माओवादीको समर्थनमा जनलहर सिर्जना हुने विश्वास व्यक्त गरे। उनले युवाहरूलाई माओवादी केन्द्रको मूलधारमा सहभागी भई देशको प्रगतिका लागि योगदान दिन आग्रह गरे।
कार्यक्रममा वाइसिएलका केन्द्रीय सदस्य शिव बन्जाडे, वाइसीएल प्युठानका अध्यक्ष मोहन परियार, सहिद परिवार कपिलवस्तुका अध्यक्ष प्रकाश पौडेल र नगर उपाध्यक्ष चुर बहादुर खड्का (जीवन) लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
सोही अवसरमा नेकपा एमाले निकट किसान महासंघका जिल्ला उपाध्यक्ष राज कुमार यादव, बिजयनगरका भेषराज भुसालसहित ५० जना कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। यस कदमले माओवादीको संगठनलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया