कपिलवस्तु, माघ ८ – नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०८१ बुधबारदेखि सुरु हुँदैछ। आर्थिक गतिविधिलाई चलायमान बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको महोत्सवको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। माघ ९ गते उद्घाटन हुने महोत्सवमा २०० भन्दा बढी स्टल रहने छन्।
व्यापार संघ कपिलवस्तुद्वारा आयोजित महोत्सव “कृषि, पर्यटन, उद्योग र व्यापार: स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ आयोजना गरिएको हो। महोत्सवमा कृषिजन्य उत्पादन, उद्योग, व्यापार, कला–संस्कृति, र शैक्षिक प्रदर्शनीजस्ता स्टल राखिनेछ। स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सवमा कृषिजन्य सामग्रीको प्रतिस्पर्धा पनि हुने आयोजक समितिका संयोजक महादेव पोखरेलले जानकारी दिए। मेलाको उद्घाटनमा अहिले सम्मकै नमुना र्याली आयोजना हुने दावी गरे ।
महोत्सवका मुख्य आकर्षणमा चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, आमा समूहस्तरीय डोरी तान प्रतियोगिता,राष्ट्रिय कलाकारको प्रस्तुती र दैनिक योगा सत्र रहेका छन्। आयोजकले ३ लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखेको छ।
स्थानीय कला, संस्कृति र जातीय पहिचान झल्काउने वस्तुका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ। महोत्सवलाई व्यवस्थित र सफल बनाउन सञ्चार जगतको पूर्ण साथ रहने पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोविले प्रतिवद्वता जनाए । सस्थाका वरिष्ठ उपाध्यक्ष जगत पौडेलको स्वागत मन्तव्यमा रहेको कार्यक्रममा पत्रकार राजु खराल,चिन्ता परियारले महोत्सवको सफलताको शुभकामना दिए ।
महोत्सवले आर्थिक, सांस्कृतिक, र सामाजिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। महोत्सव माघ २० गते समापन हुनेछ। पत्रकार सम्मेलनको सचालन महासचिव गोपाल बन्जाडेले गर्नुभएको हो ।
प्रतिक्रिया