Developed By Kuldeep Sharma

५ महिना अगाडि

नेपाल आदर्श माध्यमिक विद्यालयमा स्वर्ण महोत्सवको तयारी पूरा

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरले स्थापनाको ५० औं वर्षको उपलक्ष्यमा यही माघ १५ गतेदेखि १७ गतेसम्म स्वर्ण महोत्सव आयोजना गर्ने भएको छ। विद्यालयले तीन दिनसम्म विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउन तयारी पूरा गरेको छ।

आइतबार पत्रकार सम्मेलनमार्फत विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रमान केसीले महोत्सवको तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले विद्यालयलाई देशकै नमुना शैक्षिक संस्थाको रूपमा विकास गरेको उल्लेख गर्नुभयो।

स्वर्ण महोत्सवको पहिलो दिन “स्वर्ण महोत्सव समारोह” को शुभारम्भ, “स्वर्ण स्तम्भ” अनावरण तथा स्मारिका विमोचन गरिनेछ। दोस्रो दिन “स्वर्ण महोत्सव सहयोगदाता सम्मान”, जग्गादाता सम्मान, र पूर्व विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-अभिभावक समितिका पदाधिकारीलाई सम्मान गरिनेछ। तेस्रो दिन पूर्व शिक्षक, कर्मचारी, र विद्यार्थीलाई सम्मान, कार्यरत शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको प्राचार्य मुक्तिनाथ पोख्रेलले जानकारी दिनुभयो।

प्राचार्य पोख्रेलले स्वर्ण महोत्सवसँगै विद्यालयको ५० औं वार्षिकोत्सव र २३ औं अभिभावक दिवस समेत मनाइने जानकारी दिनुभयो। साथै, कार्यक्रममा वर्तमान तथा पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, र स्थानीय समुदायको सहभागिता अपेक्षा गरिएको छ।

नेपाल आदर्श माध्यमिक विद्यालयको यो महोत्सवले विद्यालयको ऐतिहासिक योगदानलाई उजागर गर्दै सामुदायिक सहभागितालाई बलियो बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma