Developed By Kuldeep Sharma

११ महिना अगाडि

होटल पौवाको नवौं वार्षिकोत्सव : पाँच दिने स्वाद उत्सव

चैत्र २२, कपिलवस्तु

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ ।

नवौं वार्षिकोत्सवको खुशियालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको हो । यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि हो । “स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो,”कार्यक्रमबारे जानकारी दिँदै ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले भने ।

नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणा पत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ ।

स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

९ वर्षअघि विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरू भएको थियो । आजको दिनसम्म आइपुग्दा १८ वटा शाखा पुगेका छन् । जहाँ ७०० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भैरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरू भई सकेको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गैरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ ।

पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दैआएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma