
माधव बेल्वासे
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले मातृत्व सुरक्षा र शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै विशेष कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुको अगुवाइमा “गर्भवती महिला भेटघाट तथा स्वास्थ्य सचेतना कार्यक्रम “सञ्चालन गरिएको हो । यस अभियान अन्तर्गत नगर क्षेत्रभित्र रहेका गर्भवती महिलाहरूको घरमै पुगेर उनीहरूको अवस्था बुझ्ने, आवश्यक सेवा तथा जानकारी दिने र स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने कार्य गरिएको हो ।
कार्यक्रमको क्रममा उपप्रमुख थारु स्वयं महिलाहरूको घरमा पुगेर उनीहरूको स्वास्थ्य अवस्था, पोषण स्थिति, नियमित जाँचको अवस्था, तथा अन्य आवश्यकताको बारेमा प्रत्यक्ष जानकारी लिनुभयो । उहाँले गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, नियमित स्वास्थ्य परीक्षणको आवश्यकता, पोषणयुक्त आहार, र मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्ने कुरामा जोड दिनुभयो ।
उपप्रमुख थारुले भन्नुभयो, “शिवराज नगरपालिका महिला र बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । घरदैलो कार्यक्रमको उद्देश्य महिलाहरूलाई सुरक्षित मातृत्वका लागि सशक्त बनाउनु हो ।”
उहाँले आगामी दिनहरूमा अझ प्रभावकारी, सर्वसुलभ र पहुँचयोग्य कार्यक्रमहरू ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँका अनुसार स्वास्थ्य सेवामा पहुँच नपुगेका दुर्गम क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै विशेष स्वास्थ्य शिविर, पोषण वितरण कार्यक्रम र स्त्रीरोग विशेषज्ञसहितको टोली परिचालन गरिनेछ ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी संगिता परियारले गर्भवती महिलाहरूलाई खोपको समय, नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, आयरन, फोलिक एसिड जस्ता आवश्यक पोषक तत्वहरूको महत्व, तथा सुत्केरी पछि नवजात शिशुको हेरचाहबारे विस्तृत जानकारी दिइन । साथै, मातृत्व लाभको लागि सरकारी योजना र त्यसको पहुँचबारे पनि जानकारी प्रदान गरिएको थियो ।
उपमेयर सहितको टोली घरमा पुगेपछि महिलाहरूको आत्मबल वृद्धि गर्ने,उनीहरूलाई सुरक्षित मातृत्व सुनिश्चित गराउने र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वासे लिएको छ । गर्भवती महिलाहरू र तिनीहरूको परिवारले उपप्रमुख थारुलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया