
कृषिमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ शिवराज नगरपालिका कृषि विकास शाखाले ३६ वटा हाते ट्याक्टर (मिनिटिलर) कृषकलाई वितरण गरेको छ । कृषि यान्त्रीकरणमार्फत उत्पादनशक्ति अभिवृद्धि गर्ने दीर्घकालीन लक्ष्यसहित नगरपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको कृषि विकास अधिकृत तारा चन्द चौधरीले बताए ।
ट्याक्टरहरू कृषक समूह तथा व्यावसायिक कृषकहरूलाई प्राथमिकताका आधारमा प्रदान गरिएको छ। “हामीले स्थानीय स्तरमा कृषिमा व्यावसायिकता ल्याउन चाहेका कृषकहरूलाई छनोट गरेर यो उपकरण हस्तान्तरण गरेका छौं,” चौधरीले भन्नुभयो । सोमवार चन्द्रौटामा आयोजित एक औपचारिक कार्यक्रममार्फत नगरप्रमुख अजय थापाले उक्त हाते ट्याक्टरहरू कृषकहरूलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले कृषिमा प्रविधिको प्रयोग नगरी उत्पादन वृद्धि र आत्मनिर्भरता सम्भव नभएको उल्लेख गर्दै कृषि यान्त्रीकरण अपरिहार्य भएको बताउनुभयो । “श्रमको अभाव र जलवायु परिवर्तनले कृषिमा असर पारिरहेका बेला प्रविधिको प्रयोगमार्फत समाधान खोज्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो । साथै, उहाँले आगामी वर्षहरूमा अझ बढी उपकरण, तालिम, र प्रविधि हस्तान्तरणका कार्यक्रम अघि सारिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषकहरूले यस्ता उपकरणले आफूहरूको खेती प्रणालीमा गुणात्मक सुधार आउने वडा न ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेले आशा व्यक्त गरेका छन् । शिवराज नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै कृषिमा आधारित रोजगारी सिर्जना, आय वृद्धिमा टेवा पुग्ने, र कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको जनाएको छ । नगरपालिकाको करिव १० लाखको लागतमा उक्त सामान वितरण गरेको हो ।


प्रतिक्रिया