
कपिलवस्तु । लुम्बिनी प्रदेश इटा उद्योग व्यवसायी संघको प्रथम साधारणसभा तथा अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो।
अवसरमा मन्त्री न्यौपानेले प्रदेश सरकार सबल हुनुपर्ने आवश्यकता औंल्याउँदै उद्योग क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ठोस नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले कुन उद्योगलाई कुन तहको सरकारले नियमन गर्ने भन्ने विषयमा स्पष्टता नहुँदा अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै प्रदेश सरकारलाई अनुगमन मात्र नभई कारबाही गर्ने अधिकारसमेत दिनुपर्ने धारणा राख्नुभयो।
उहाँले प्रदेशका कर्मचारी प्रदेश लोक सेवा आयोगमार्फत नियुक्त हुनुपर्नेमा जोड दिँदै यातायात क्षेत्रमा सरकारले थप काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार ‘एम्बेष्ट नम्बर’ असोज महिनादेखि लागू हुने तयारी भइरहेको छ। साथै, नविकरण नगरेका उद्योगलाई कर तिर्न छुटको व्यवस्था गरिएको पनि मन्त्री न्यौपानेले बताउनुभयो।
कार्यक्रममा नेपाल इटा उद्योग संघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दले सरकारले इटा उद्योगलाई निरन्तर अपहेलना गरेको आरोप लगाउँदै उद्योगीहरूको वास्तविक पीडा राज्यले बेवास्ता गरेको बताउनुभयो। उहाँले इटा उद्योगलाई दीर्घकालीन दृष्टिकोणसहित सम्बोधन नगरे उद्योग संकटतर्फ धकेलिने चेतावनी दिनुभयो।
संघका प्रदेश अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता तथा महासचिव रुक बहादुर भुसालको संचालनमा सम्पन्न साधारणसभामा उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रतिक्रिया