Developed By Kuldeep Sharma

६ महिना अगाडि

नेकपा माओवादी केन्द्रको शिवगढीमा दिप प्रज्वलन

नेकपा माओवादी केन्द्र शिवराज नगर समितिले संविधान दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी दिप प्रज्वलनसहित शिवगढीमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संविधान दिवसको महत्व, वर्तमान संविधानले ल्याएको उपलब्धि तथा यसको संरक्षण र कार्यान्वयनका चुनौतीबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा नगर इन्चार्ज दिनेश पुनले संविधानको रक्षा र कार्यान्वयनमा माओवादी दृढ रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानलाई पूर्ण कार्यान्वयन गरेर मात्र लोकतन्त्रको आधार बलियो बन्ने बताउनुभयो । पुनले संविधानले जनताको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै अझै पनि जनताको अपेक्षाअनुसार संविधान कार्यान्वयन गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहिस शाहले संविधानबारे चर्चा गर्दै माओवादी पार्टी सुरु देखिनै संविधानका केही प्रावधान संशोधन र परिमार्जन गर्नुपर्ने पक्षमा रहेको स्पष्ट गर्नुभयो । उहाँले संविधानलाई जनमुखी बनाउन, उत्पीडित समुदाय, दलित, महिला, पिछडिएका वर्गको अधिकार सुनिश्चित गर्न आवश्यक परे संविधान परिमार्जन गर्नुपर्ने बताउनुभयो । शाहले माओवादीले संघर्ष र आन्दोलनमार्फत संविधान निर्माणमा ऐतिहासिक योगदान गरेको स्मरण गराउँदै अब यसको प्रभावकारी कार्यान्वयनमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगर अध्यक्ष चुर बहादुर खड्का पुर्व अध्यक्ष सरला बुढा चिन्ता परियार सचिव काशी आचार्य लगायत स्थानीय नेता, कार्यकर्ता, सामाजिक अभियन्ता तथा नागरिकहरुको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले दिप प्रज्वलन गरी संविधानको रक्षा, कार्यान्वयन र सुधारका पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma