Developed By Kuldeep Sharma

साझा उम्मेदवार ईश्वर दयाल मिश्रद्वारा चन्द्रौटामा पार्टी कार्यालय उद्घाटन 

राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्र ले शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा चुनावी अभियानलाई लक्षित गर्दै पार्टी सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ। कार्यक्रममा तीन दलका नेता–कार्यकर्ता, स्थानीय बुद्धिजीवी तथा मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मिश्राले तीन दलबीचको सहकार्यले क्षेत्रको विकास, सुशासन र सामाजिक न्यायका मुद्दालाई सशक्त रूपमा अघि बढाउने बताउनुभयो। उहाँले साझा उम्मेदवारको रूपमा जनताको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा रोजगारी सिर्जना, कृषि तथा सिँचाइको समस्या समाधान, शिक्षा–स्वास्थ्य सेवाको पहुँच विस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी नेपाल का स्थानीय नेताहरूले साझा उम्मेदवारमार्फत जनताको आवाज प्रतिनिधित्व हुने विश्वास व्यक्त गरे। उनीहरूले तीन दलको एकता लोकतान्त्रिक मूल्य, समावेशी विकास र क्षेत्रीय समृद्धिका लागि महत्वपूर्ण कदम भएको धारणा राखे।
उद्घाटन कार्यक्रम शिवराज नगरपालिका–५, चन्द्रौटा मा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय बासिन्दाले सडक, सिँचाइ, बजार व्यवस्थापन र युवाका लागि सीपमूलक तालिम आवश्यक रहेको गुनासो राखेका थिए। ती समस्यालाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा समाधान गर्ने मिश्राले आश्वासन दिनुभयो।
साझा उम्मेदवारीले निर्वाचन क्षेत्रमा नयाँ राजनीतिक सन्देश दिएको भन्दै नेताहरूले आगामी निर्वाचनमा जनताको मतबाट विकासमुखी नेतृत्व स्थापित हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा सहभागीहरूले कार्यालय उद्घाटनसँगै चुनावी गतिविधि थप सशक्त हुने अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma