अदालतको आदेशविपरीत कर असुल्दै गढवा, दोहोरो करले व्यवसायी मर्काम
दाङको गढवा गाउँपालिकाले अदालतको आदेशविपरीत दोहोरो कर असुल्दै आएको छ। उच्छ अदालत तुलसीपुरले २०८१ कार्तिक १३ गते दोहोरो कर नलिन आदेश दिए पनि पालिकाले त्यसलाई कार्यान्वयन नगर्दा स्थानीय व्यवसायी समस्यामा परेका छन्। विशेष गरी ढुङ्गा, गिट्टी, र बालुवाको उत्खनन तथा ढुवानीका लागि तीन तहमा कर असुल्ने गरिएको छ।
व्यवसायीहरूले यसबारेमा अदालतमा रिट हालेका थिए। उक्त रिटमाथि छलफलका लागि कार्तिक २७ गतेको मिति तोकिएको छ, जसले उक्त अवधीसम्म दोहोरो कर असुल्न रोक लगाएको छ। व्यवसायी डिल्लिराम भुसालले एउटै सामग्रीको लागि तीन पटकसम्म कर तिर्नु अन्यायपूर्ण भएको भन्दै यसको विरोध गरेका छन्। उनले भने, “हामीले राज्यलाई तिर्नुपर्ने कर तिरिसकेका छौं, तर दोहोरो र तेब्बर कर तिर्न लगाउनु अन्याय हो।”
गढवा गाउँपालिकाको जुरौनीमा स्वर्गद्वारी निर्माण सेवाले ठेक्का लिएर कर असुल्दै आएको छ। यसबारे प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले पूर्व-पश्चिम राजमार्गमा कर असुल्न नपाइने बताएका छन्। उनले गाउँपालिकालाई यो विषयमा सचेत गराइसकेको उल्लेख गरे।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले सडकमा लिने कर नलिने गरि पत्राचार गरिसकेको जानकारी दिए। यद्यपि, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेलले भने दोहोरो करको विषयमा कानुनी सल्लाह लिने बताएका छन्। अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको समेत कुरा बाझिएको छ ।
व्यवसायीहरूले भने पालिकाको यस्तो व्यवहारले आफ्नो व्यवसायमा ठूलो नोक्सानी पुर्याइरहेको गुनासो गरेका छन्। उनीहरूले स्थानीय प्रशासनले कानुनी आदेशलाई अवज्ञा नगर्न र व्यवसायमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया