


कपिलवस्तु, शिवराज — ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शिवराज नगरपालिकामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। चेम्बरको सभाहलमा सम्पन्न उक्त कार्यक्रम शिवराज नगरपालिकाको आयोजना तथा शिवराज नगरस्तरीय सहकारी सञ्जाल र कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा आयोजित गरिएको हो।
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले सहकारीहरू आत्मनिर्भरता उन्मुख हुनुपर्नेमा जोड दिनुभयो। उहाँले कतिपय सहकारीहरू अझै पनि व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै अध्ययन र पर्याप्त बुझाइपछि मात्र सहकारीसँग आबद्ध हुन आग्रह गर्नुभयो।
नगरभित्रका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा सहकारी सञ्चालनसम्बन्धी जानकारी सहकारी अभियान्ता गुणानिधि भुसालले प्रदान गर्नुभएको थियो।
सहकारी सञ्जालका अध्यक्ष शरद अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता रहेको थियो। साथै वडा अध्यक्षहरू खिम विक्रम केसी, नेत्र बेल्वासे र राम बहादुर चौधरीको आतिथ्यता रहेको कार्यक्रम सचिव नवराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो।


प्रतिक्रिया