मोफसल खबर
पछिल्लो समयमा चर्चाको विषय बनेको शिवराज भवन निर्माण प्रकरण अहिले थप विवादित बन्दै गएको छ । नगरपालिकाको भवन निर्माण स्थलको पक्षमा रहेका व्यक्ति नै नगरप्रति रुष्ट हुदाँ विवाद प्रकरण थप पेचिलो बनेको छ । विवादको विषय अहिले सामाजिक संजाल,नेकपाको नगर कमिटि र जिल्ला कमिटिमा समेत छलफल र चर्चाको विषय बनेको छ ।
नगरकार्यपालिकाले भवन निर्माण गर्ने निर्णय गरेलगतै बाट सुरु भएको विवाद अहिले सर्बाेच्च सम्म पुगेको छ । शिवराज नगरपालिका ५ रहटकोलमा बन्न लागेको भवन निर्माणको काम अहिले रोकिएको छ । जिल्ला अदालतले भवन निर्माण रोक्न आदेश दिए लगतै नगरपालिकाले पुनराबेदन हुदै सर्वोच्चमा पुगेर निर्माणको कामलाई निरन्तता दिएको हो । केहि समय अगाडी सर्वोच्चले नगरपालिकाको भवन निर्माण गर्न आदेश दियो । विगत केहि महिना धमाधमका साथ निर्माण भयो । पछिल्लो समयमा भने नगरपालिकालाई विपक्ष बनाएर स्थानिय तारिखराम चौधरीले सर्बोच्च अदालतमा मुद्धा दायर गरे । २०३८ साल देखि नगरपालिका भवन निर्माण हुन लागेको जग्गामा नागरिक बसोवास गर्दै आएको र २०७५ साल सम्म बिटौरी कर तिरेको प्रमाण अदालतमा पुगेपछि निर्माण कार्य रोक्न अन्तरिम आदेश भएको छ । कित्ता न ५८,५९ मा कुनै पनि निर्माण कार्य नगर्न सर्वोच्चले आदेश दिएको हो ।
शिवराज नगरपालिको भवन निर्माण स्थलको बिरोधमा स्थानिय नेता हरी पोखरेल सक्रिय व्यक्ति हुन । उनकै नेतृत्वमा जिल्ला , पुनरावेदन र सर्वोच्चमा समेत मुद्धा परिसकेको छ । नगरपालिका भवन निर्माण स्थल विरुद्ध मुद्धा परेपछि नगरपालिकाले विश्वास पात्रको रुपमा स्थानिय जगतमान केसीलाई उक्त जग्गाको विषयलाई सल्ट्याउन मौखिक रुपमा जिम्मा प्रदान गरेको नगरपालिकाको स्रोतले बताउछ । के.सी.ले भवन निर्माणको मुद्धामा पुनरावेदन हुदै सर्वोच्च सम्म पुगेर नगरपालिकाको पक्षमा नतिजा ल्याउन उल्लेखनिय भुमिका निर्वाह गरेको नगरपालिका स्रोतले बतायो । नगरपालिकाको पक्षमा भवन निर्माण कार्य सुचारु गर्न सर्वोच्चको आदेश लगतै भवन निर्माणको काम सुरु भयो ।
भवन निर्माण कार्य अगाडी बढ्दै गर्दा उता जगतमान केसी र नगरपालिका विच नाटकिय रुपमा आन्तरिक विवाद हुन सुरु भयो । मन्द गतिमा सुरु भएको तिक्तता अहिले व्यापक भएको छ । तिक्तता बढ्नुको मुख्य कारण भने मुद्धा सल्टाउन लागेको खर्चको पुरा रकम केसीले नपाउदाँ भएको भन्ने जानकारहरुको बुझाई छ । अहिले नगरपालिका प्रतिको तिक्तता के.सी.को सामाजिक संजाल फेसबुकमा दैनिक जसो देख्न सकिन्छ ।
जानकारहरुको अनुसार नगरपालिकाले आफ्नो स्वार्थ सिद्ध गरेपछि केसी प्रतिको व्यवहारमा परिवर्तन गर्यो । नगरपालिकाको सल्लाहकारको रुपमा जाने इच्छाएका के.सी.ले सोचे जस्तो नगरपालिकामा वाताबरण बन्न सकेन । जति बेला के.सी.ले नगरपालिकामा बाक्लो उपस्थिती देखाउदै थिए, त्यहि समयमा प्रमुख प्रशासकिय अधिकृतको परिवर्तन भयो र नया आएका अधिकृत जगतमानको पक्षमा देखिएनन् । केन्द्र स्तरमा समेत राम्रो पहुच भएका केसीलाई नगरपालिकाको सल्लाहकार बन्ने ईच्छा रहेको तर नगरपालिकाले बेवास्ता गरेको नेकपाका नेताहरुको बुझाई छ ।
अहिले नगरपालिकाको पुर्ण बिरोधमा जगतमान केसी देखिएका छन् । केसीले प्रमुख प्रशासकिय अधिकृत,नगरप्रमुख,प्रदेश सासदको बिपक्षमा सामाजिंक संजालमा पोष्ट गरेका छन् । यता सुरुवात वाटै भवन निर्माण स्थलको विरोधमा रहेका हरि पोखरेललाई अहिले ढुगा खोज्दा देउता मिले जस्तो भएको छ । मेहनत र खर्च गर्दा समेत सफल हुन नसकेका पोखरेल अब भने निर्माणाधिन स्थानमा भवन निर्माण नहुने कुरामा आशावादि देखिएका छन् । नगरपालिकाको पक्षमा प्रमाण जुटाउन लागि परेका केसीको नै नगरपालिका संग दुरि बढेपछि नगरपालिका भवन निर्माण स्थलको विरोध गर्दै आएको समूहलाई सुनमा सुगन्ध भएको छ । स्रोतका अनुसार केसी अहिले निर्माण स्थलकोे विपक्षमा रहेका समुह सँग नजिक रहेको बुझिएको छ ।
नेकपाका जिल्ला कमिटि सदस्य रहेका के.सी.ले पार्टीमा राजिनामा बुझाएका छन् । जिल्ला कमिटिले नगरकमिटि सँग राजिनामाको विषयमा राय समेत मागेको छ । नगरकमिटिमा कतिपयले पार्टीले पुर्ण कारवाही गर्नुपर्छ भनेका छन् भने कतिपयले नगरपालिकाले दिनुपर्ने रकम दिनुपर्ने मत राखेका छन् , यद्यपी सा्रेतले उनको राजिनामा स्वीकृत भयो भएन भन्ने जानकारी दिन सकेको छैन् । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी यसै विषयका कारण आफ्नो कार्यकालमा भवन निर्माण नहुने होकी भन्ने तनावमा छन । भवन बनाउन कम्मर कसेर लागेका अधिकारीलाई बेलाबेला हुने भवन निर्माण स्थलको मुद्धाले आफ्नो कार्यकालमा बन्छ बन्दैन भन्ने दोधारमा छन । बारम्बारको मुद्धा विवादले भवन निर्माण कार्य रोकिदै चल्दै गर्दा भवन बन्छ बन्दैन भन्नेमा नगरबासी पनि अन्यौलमा परेका छन् ।
प्रतिक्रिया