राम अवतार चौधरी
कपिलवस्तु, २९ पुस ।
भुमिपुत्र मुल आदिवासी जनजाति समुदाय मध्ये साँस्कृतिक रूपमा विश्वकै धनी थारु समुदाय रहेको पाइन्छ । यतिबेला थारु समुदायमा थारु पहिचान झल्कने नाचगानले थप रौनकता छाएको छ । करिव १ महिना अगाडीदेखि नै थारु समुदायमा माघी पर्वको तयारी गर्ने गर्दछन् । यस बखत थारु बस्तीमा माघको रौनकताले हर्सोल्लास थपेको छ । थारु समुदायले माघ महिना र माघी पर्वलाई नयाँ वर्षको रुपमा समेत मनाउँदै आएका छन् । चिसो मौसमसँगै भित्रिएको माघ महिना र अझै भनु न माघ महिनासँगै आगमन भएको थारु समुदायमा महान माघी पर्वको रौनक जुन अहिले उक्त समुदायको झण्डै देशैभरिका गाउँघरको चोक चौराहमा माघी पर्वको गीत गुन्जी रहेको साथै कला संस्कृतिले मञ्च रंगिन समेत हुने गर्दछ ।
थारु समुदायको दशैं पछिको ठूलो पर्व हो । माघी पर्वसँगै नयाँ कामको सुरुवात हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेको स्थानीय थारु अगुवाहरू बताउँछन् । प्राचीन कालमा थारुहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ । वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय हो । माघे संक्रान्ति तसर्थ माघमा थारु समुदायमा घर बाँडफाड गर्ने, जग्गा अधिया लगाउने या नलगाउने, बर्षभरीको समिक्षा र आगामी दिनको योजना समेत माघीमा बनाउने गरेको पाइन्छ । यसैगरी थारु बस्तीमा साँझा–साँझा थारु पहिचान झल्कने थारु नाच गान गाई रमाउने चलन रहेको छ । थारु समुदायमा एक महिनादेखि यस्तै रौनक र माघ महिनाभरी नाच गान गर्ने चलन चल्दै आएको छ ।
सो समुदायले बनाउने हरेक चाँड, पर्व मध्ये माघी विशेष अनि मुख्य पर्वको रूपमा पुस्तौ देखि मनाउँदै आाएको थारु अगुवा बताउँछन् । वर्तमान समयसापेक्ष विश्व नै कोभिड–१९ सँग संघर्ष गरिरहेका समय विगतका जस्तै भव्य मेला महोत्सव भन्न र गर्न सकिने परिस्थिति त छैन् । तर पनि थारु बहुल्य रहेको क्षेत्रमा आफ्नो मौलिक सांस्कृतिक पहिचान, सम्बर्द्धन र संरक्षणका लागि साँस्कृतिक कार्यक्रमहरु आयोजन गरि माघी पर्व मनाउने थारु समुदाय जमर्कोमा जुटेको थारु समाजिक अभियान्ताहरुले बताएका छन् ।
थारु समुदाय देशकै दोस्रो ठूलो जनसंख्या भए त पनि भाषिक तथा पहिरनमा केही भिन्नता रहेको विद्यमान परिस्थिति कायम नै छ । तसर्थ फरक स्थान अनुसार प्रत्येक पर्वलाई बेग्लाबेग्लै तवरले मनाउने गरेको समेत पाइन्छ । यसैबीच कपिलवस्तुकै कुरा गर्नुपर्दा “पुस खाव माघ लहाव“ भन्ने उखान परिचलित छ । यसलाई कपिलवस्तुका थारु समुदायको रूपमा व्याख्या गर्नुपर्दा पुस महिनाको अन्तिम १ दिन र माघ पहिलो दिन एकाबिहानै नुहाइधुवाइ गरि आगनमा घरको मुख्य धोकाको अगाडि गोबरले लिपपोट गरि धेरैथोरै चामल, दाल, नुन, खुर्सानी र आलु लगायत सुपोमा राखि साथै लोटामा पानी समेत राखेर चामलको टिका लगाउने चलन रहेको छ । त्यपछि आफू भन्दा ठूललाई ढोग गरि आशीर्वाद लिने गर्दछन् । टीका लगाएर बचेको चामल लगायतको सामाग्रीमा अझै थप गरेर विवाह भएको जोडीले चेलिबेटीलाई (निसराउ) पाहुर वा उपहारको रुपमा दिने चलन छ । त्यसैगरी अविवाहित महिलाले टीका लगाएर बचेको सामाग्री बाहुन (पण्डित) लाई दान दिने गरेको कपिलवस्तुका थारु अगुवा बताउँछन् ।
शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले माघको अन्तिम दिन सुङगुर अर्थात (जिता) मार्ने चलन रहेको बताएकी छन् । सोही दिन गाउँभरीका एकठाउँ जम्मा भई सुंगुर र कुखुराको मासु बाँडफाड गरि आ–आफ्नो घरमा लग्ने गरेको उनले जनाइन् । जिता मारेपछि उनिहरु घरमा लगेर अनेक परिकार जस्तै तरुल, घोंघी, ढिक्री, माछा, जाँड सँग सपरिवार मिलेर खाने चलन रहेको समेत थारुले उल्लेख गरिन् ।
त्यसैगरी थारु कल्याणकारी सभाका कपिलवस्तु जिल्ला सभापति उमाशंकर थारुले माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जाने बताए । माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन पनि थारु समुदायमा रहेको उनले जनाए । नयाँ वर्षका रुपमा माघी पर्व मनाइने भएकाले पढाई तथा रोजगारीका लागि बाहिरिएका थारु समुदायका व्यक्तिहरू पनि माघी मनाउनका लागि आफ्नै घर फर्किने गरेको जनाए । माघीमा गाँउघरमा ढोग (स्यावा) लाग्ने, दिदी बहिनीलाई कोसेली सहित भेटन जाने, मघौटा नाचको आयोजना गर्ने, अंशवंण्डा गरिने, गुरुवा केशौका र बडघर चुन्ने लगायत कार्य परम्परागत कालदेखि चल्दै आएको सभापति थारुले बताए ।
माघे संक्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । सोही दिन नजिकै लागेको मेला महोत्सवमा रमाउन जाने र गाउँघरमा गुच्चा खेल्ने प्रचलन समेत रहेको सभापति थारुले जानकारी दिए ।
प्रतिक्रिया