

काठमाण्डाै – निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन प्रदेश प्रमुखसमक्ष बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।
गएको मंसिर ४ गते भएको प्रदेश सभा सदस्य चुनावको परिणाम आज एकैसाथ सात वटा प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश सभाका लागि भएको चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था संविधानको धारा १८३ ले गरेको छ।
पहिलो बैठक आह्वान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारको सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् ।
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधार १ मा रहेको छ ।


प्रतिक्रिया