Developed By Kuldeep Sharma

सरकारले धान नकिनेको भन्दै किसान आन्दोलनमा, अझै बेला नभएको सरकारी तर्क

सरकारले आफैँले तोकेको मूल्यमा धान खरिद नगरेको भन्दै किसानले आन्दोलन थाले पनि सरकारले भने अझै बेला नभएको बताएको छ । सरकारले धान खरिद नगर्दा सस्तो मूल्यमा निजी मिललाई धान बेच्न बाध्य भएको किसानको गुनासो छ । तर धान खरिदको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने गुणस्तरीय धान खरिदका लागि अझै बेला नभएको जनाएको छ ।

धान काट्ने बित्तिकै किन्दा त्यसमा चिस्यानको मात्रा बढी हुने भएकाले ढिलो गरी मात्रै धान किन्न लागिएको खाद्य व्यवस्था कम्पनीको भनाइ छ । यसवर्ष ३० हजार २० मेट्रिक टन धान खरिद गर्ने खाद्य व्यवस्था कम्पनीको योजना छ । त्यसका लागि ९९ करोड रुपैयाँ बजेटसमेत छुट्याइएको छ । अहिलेसम्म १० हजार क्विन्टल धान खरिद भइसकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब कार्यकारी अधिकृत श्रीमणिराज खनालले अघिल्लो शुक्रवारदेखि धान खरिद प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।

सरकारले धान किन्ने प्रतिबद्धता जनाइसकेकाले किसानले पनि केही समय धैर्य गर्नुपर्ने उहाँको भनाइ छ । धान काट्नेबित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको उहाँको तर्क छ । त्यस्तै, पश्चिम भेगमा चाँडो र पूर्वीभेगमा ढिलो गरी धान काट्ने हुनाले खाद्य व्यवस्था कम्पनीले खरिदको काम पनि पश्चिमबाटै सुरु गरेको खनालको भनाइ छ ।

गएको कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ रुपैयाँ तोकिदिएको छ । मङ्सिर महिना बितिसक्दा पनि सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेका कारण व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको किसान तथा उनीहरूका छाता सङ्गठनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma