Developed By Kuldeep Sharma

कपिलवस्तु सहित तराईका जिल्लामा चिसो बढ्यो

कपिलवस्तु  –

कपिलवस्तु सहित तराईका जिल्लामा चिसो बढेको छ । आज बिहानैदेखि हुस्सु तथा चिसो हावा चलेका कारण सर्वसाधारणले अन्य दिनको तुलनामा बढि चिसो भएको महसुस गरेका छन् ।चिसो बढ्न थालेपछि न्यानो ओढ्ने ओछ्याउने नभएका अति विपन्न परिवार प्रभावित भएका छन् । तराईका जिल्लाहरूमा बर्सेनि पुस, माघको जाडोले आय आर्जन न्यून भएका अति विपन्न र दलित परिवार प्रभावित हुने गरेका स्थानीय नरेश कुवरले बताउनुभयो । चिसो छल्न तराई मधेसका जिल्लामा आगो बलोर ताप्ने गरिन्छ ।

चोक चौराहामा आज बिहानै देखि सर्वसाधारणहरू आगो ताप्दो बसेका छन्। चिकित्सकहरूले चिसो बढ्दै जाँदा बालबालिका, वृद्ध वृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूको विशेष ख्याल गर्न आग्रह गरेका छन् । जाडो याममा चिसो जन्य सङ्क्रमण बढ्ने भएकाले शरीर ढाक्ने न्यानो कपडा लगाउनुपर्ने र ताजा तथा ताता खानेकुरा बढी खानुपर्ने शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चूडामणि भट्टराईले बताउनुभयो । विभिन्न खाले दीर्घ रोग भएकाहरू यो चिसोमा अझ सजग हुनुपर्ने उहाँले बताउनुभयो ।

चिसो बढेपछि किसानहरू पनि प्रभावित भएका छन् । बिहानै देखि खेतीपातीमा जाने किसान चिसोका कारण जान सकेका छैनन् । तराइमा शितलहर हुने भएकोले तरकारी बालीमा असर हुने कृषक राधेश्याम थारुले बताउनुभयो । आलु गोलभेँडा सागपात समेत असर गर्ने थारुको भनाई छ ।शिवराज नगरपालिकाका प्रमुख अजय थापाले चिसो बढेकोले यसबाट बच्न सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma