कानमा झुम्का नाकमा नथुनी,खुट्टामा पाउजु सहित थारु पहिरनमा चिटिक्क सजिएका थारु समुदायका युवतीहरूलाई निकै सुहाएको थियो । गुनिया र चोलीको साथमा रहेका युवतीहरू धपक्क बालेका थिए । यही बिचमा एउटा डोलामा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी थिए भने अर्का डोलीमा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु । केसी र थारु दुवै जना थारु पहिरनमा सजिएका थिए ।थारु समुदायमा लोकप्रिय मानिने डोला(दुलाहा राख्ने ठाउँ) र डोली(दुलही राख्ने ठाउँ)लाई संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले यो क्रियाकलाप गरिएको हो । माघीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका १ करहियामा आयोजित दुइ दिने खिचडी महोत्सवमा थारु सामाग्री प्रदर्शन सँगै विभिन्न थारु नृत्यहरू पनि प्रस्तुत गरिएको छ । मेला अवलोकन गर्न आउने दर्शकहरूले थारु सामाग्रीहरु किस्टी,मुरली दिलिया,डेहरी,चुली,सिकहर,ढकिया लगायतका सामाग्री राखिएको छ । थारु समुदायको महान् पर्वको अवसरमा आयोजित खिचडी महोत्सवमा विभिन्न थारु परिकारहरू राखिएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले जातीय पहिचान जोगाउन युवा पुस्ताहरू लाग्नुपर्ने बताए । थारु समुदायको एउटा फरक पहिचान रहेकोले विशेष महत्त्वका साथ हेरिने बताए । प्रदेशका विभिन्न ठाउँमा थार संघ्रालयहरु निर्माण भएको जनाए । शिवराज नगरपालिकाका प्रमुख अजय थापाले थारु समुदायको संरक्षणको लागि कुनै कसर वाकी नराख्ने बताए । थारु महिलाको क्षमता विकास देखि हरेक क्षेत्रमा नगरले मागका आधारमा काम गर्न तयार रहेको जिकिर गरे ।
शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले थारु कला संस्कृतिको संरक्षणको लागि उमरीमा थारु सङ्ग्रहालय निर्माण भएको बताइन् । लोप हुन लागेको पहिचानलाई जोगाउन सबै तत्पर हुनुपर्ने बताउँदै माघी पर्वले एकताको भावना सिर्जना गर्ने जनाइन् । थारु कल्याणकारणी सभा शिवराज नगर समितिको आयोजनामा भएको उक्त मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको समेत प्रस्तुति रहेको छ ।
प्रतिक्रिया