
कपिलवस्तु, शिवराज – शिवराज नगरपालिकाले महिलाहरूलाई कानुनको जानकारी दिई सशक्त बनाउने उद्देश्यले ‘कानुनी सचेतना कार्यक्रम’ सुरु गरेको छ। महिलामाथि हुने हिंसा, विभेद र अन्यायको अन्त्य गर्न कानुनी जानकारी अपरिहार्य रहेको भन्दै नगरपालिकाले सबै वडामा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
आइतबार वडा नं. १ मा आयोजित उद्घाटन कार्यक्रमबाट अभियानको औपचारिक सुरुवात गरिएको हो। उद्घाटन सत्रमा बोल्दै नगर उपप्रमुख शिवकुमारी थारुले ग्रामीण महिलाहरू कानुनी विषयमा अनभिज्ञ रहँदा हिंसा र अन्याय सहनुपर्ने अवस्था आइरहेको बताइन्। “कानुनबारे जानकारी नहुँदा धेरै महिला हिंसा सहेर पनि बोल्दैनन्, न्याय खोज्दैनन्। यस्तो अवस्था अब अन्त्य हुनुपर्छ,” उनले भनिन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले ऐन, कानुन र संविधानमा महिलालगायत सबै नागरिकका लागि प्रत्याभूत गरिएका अधिकारबारे प्रकाश पारे। उनले भने, “कानुनी साक्षरताको अभावले गर्दा धेरै नागरिकले आफूमा भएको अधिकार प्रयोग गर्न सकिरहेका छैनन्। गाउँघरमा अन्याय सहेर बस्ने प्रवृत्ति हटाउन यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्।”
शिवराज नगरपालिकाका कानुनी सल्लाहकार शम्भु सेनले हालका कानुनी प्रावधानहरू, अपराधसँग जोडिएका सजाय, जरिवाना र कारबाही प्रक्रिया सम्बन्धी विस्तृत जानकारी दिए। उनले महिलाहरूलाई आवश्यक परेको खण्डमा कानुनी सहायता कसरी लिन सकिन्छ भन्ने विषयमा पनि स्पष्ट पारेका थिए।
वडा नं. १ मा सम्पन्न कार्यक्रममा ५० जना महिला सहभागी भएका थिए। सहभागीहरूमध्ये थारु, मुस्लिम, मधेसी, आदिवासी समुदायका महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष खिम विक्रम केसी, महिला अधिकारकर्मी दलिम मुस्लिम लगायत सामाजिक अभियन्ताहरूको पनि सहभागिता रहेको थियो ।नगरपालिकाले बाँकी सबै वडामा समेत छिट्टै कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिने महिला विकास निरीक्षक जिवा केसिले बताउनुभयो


प्रतिक्रिया