

कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ मा यसपटकको चुनावी माहोल फरक देखिएको छ। परम्परागत नारा र दलगत वाचा भन्दा बाहिर निस्कँदै Right to Recall (जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) लाई मुख्य चुनावी मुद्दा बनाएर युवा पत्रकार चिन्ता परियार स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। पत्रकारितामार्फत लामो समयदेखि सुशासन, जवाफदेहिता र जनअधिकारका विषय उठाउँदै आएका परियारले “जनताले चुनेपछि पाँच वर्षसम्म हेरेर बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ” भन्ने मान्यतालाई आफ्नो अभियानको आधार बनाएका छन्।
परियार भन्छन्, “मतदान भनेको जनताको अन्तिम अधिकार होइन, सुरुवात मात्र हो। जनताको भरोसा तोड्ने जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउने अधिकार संविधान र कानुनले सुनिश्चित गर्नुपर्छ।” जनप्रतिनिधि होइन, सेवक बनाउने अभियान Right to Recall को अवधारणाले जनप्रतिनिधिलाई जनताप्रति सधैं उत्तरदायी बनाउने विश्वास परियारको छ। उनका अनुसार विकास बजेटको दुरुपयोग, जनताको आवाज बेवास्ता र चुनावपछि देखिने गैरजिम्मेवार प्रवृत्ति रोक्न यो अधिकार अत्यावश्यक छ।
स्थानीय युवाहरू, नागरिक समाज र सचेत मतदाताबीच यो मुद्दाले उल्लेख्य चासो पाएको छ। “पहिलो पटक हाम्रो क्षेत्रमा जनतालाई शक्तिशाली बनाउने मुद्दा खुलेर उठाइएको छ,” एक स्थानीय मतदाता बताउँछन्। युवा र पत्रकार पृष्ठभूमिको प्रभाव पेसाले पत्रकार रहेका परियारले सूचनाको पहुँच, पारदर्शिता र सत्यको पक्षमा उभिने आफ्नो अनुभवलाई राजनीतिक यात्रामा उपयोग गर्ने बताएका छन्। उनको अभियानमा महँगा प्रचार सामग्रीभन्दा घरदैलो संवाद, खुला बहस र सामाजिक सञ्जालमार्फत मुद्दामुखी प्रचार प्राथमिकतामा राखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार परियारको उम्मेदवारीले कपिलवस्तु–३ मा “नेतामुखी राजनीति कि जनमुखी अधिकार” भन्ने बहसलाई चुनावको केन्द्रमा ल्याएको छ। परिवर्तनको सन्देश चिन्ता परियारको अभियान केवल एक सिट जित्ने प्रयास मात्र नभई, जनतालाई निर्णायक बनाउने राजनीतिक संस्कार सुरु गर्ने प्रयास भएको उनी बताउँछन्। “यदि म जितें भने मात्र होइन, जित्न नसके पनि Right to Recall राष्ट्रिय बहस बन्नुपर्छ। यही मेरो जित हुनेछ,” परियारको भनाइ छ।


प्रतिक्रिया