माधव बेल्वासे
चन्द्रौटा,२३ भदौ
साँघुरो सडक त्यसमाथि छाडा चौपायाको अव्यवस्थित बसाई ले सडक नै अवरुद्ध नै हुन्छ पूर्व पश्चिम राजमार्ग । रातभर किसानहरूको वालि खाएर नष्ट पर्ने चौपाया दिनभर सडकमा देखिन्छ । कपिलवस्तुको चन्द्रौटा, गोरुसिङ्गे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरालगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान सडकमै देखिन्छन ।
कपिलवस्तुको दश वटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रूपमा रहेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन् । छाडा चौपाया दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा किसानले लगाएको बाली खाने गर्नाका साथै सडकमा यात्रा गर्नेले समेत समस्या भोग्नु परेको जनगुनासो छ । खेतमा लगाइएको धान बाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने किसान बताउँछन् ।
सडकमा हुने सडक दुर्घटनाको एक कारण छाडा चौपाया रहेको कपिलवस्तुका ट्राफिक प्रहरी नीरज गौतमको भनाई छ । एक त साँघुरा सडक त्यसमा पनि पशु चौपाया सडकमै बस्ने भएकोले बढी दुर्घटना हुने गरेकाले दिगो व्यवस्थापन गर्न उनले आग्रह गरे । किसानले आफ्नो खेतबारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाले खेतमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल हुने गरेको स्थानीय राजेश कहारले बताए ।
व्यवस्थापन गर्न जनप्रतिनिधि प्रतिबद्ध
छाडा चौपायाका व्यवस्थापनमा चुनौती देखिएपछि केही दिन अघि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सबै पालिकाका प्रमुखहरूको सहितको छलफल ग¥यो । छलफलले बुद्धभुमी नगरपालिका वडा ९ मा रहेको गब्दहवा स्थानमा १ सय हेक्टर क्षेत्रफलमा तार वार गरी छाडा चौपायाको व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । ठुलो समस्याको रूपमा देखा परेको छाडा चौपायालाई व्यवस्थापनमा सबै पालिकाले आर्थिक सहयोग गर्ने समेत निर्णय भएको छ ।
उक्त स्थानमा चौपायालाई खानाको लागि वन क्षेत्र र पानीको पानीको पनि सहजता रहेको शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए । ‘छाडा चौपायाका कारण किसानहरू तथा राजमार्गमा सवारी साधनलाई समेत धेरै समस्या परेको छ, थापाले भन, ‘त्यहाँ गौशाला निर्माण गरी व्यवस्थापन गरिने छ,त्यसपछि यो समस्या समाधान हुने छ, ।’
मेयर थापाले शिवराज नगरपालिकाले यस वर्ष छाडा चौपायाका व्यवस्थापनको लागि १० लाख रकम विनियोजन गरेको बताए । यस भन्दा अगाडी सुगुरबरुवामा छाडा चौपायाको व्यवस्थापनको लागि प्रयास भए पनि राजमार्ग नजिक रहेको जोखिम बढेको उनले बताए । छाडा चौपायाका व्यवस्थापनमा सबै पालिकाहरूको सहयोग आवश्यक रहने वुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया