Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

हिंसात्मक घटनाको डेढ दशक : न्यायको पर्खाइमा पीडित

माधव बेल्वासे
चन्द्रौटा,३० भदौ
घटना आज भन्दा ठिक १५ वर्ष अघिको हो । २०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुको कुदरवेटवाका तराई मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता तथा समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । हिंसा भड्किदा ५ हजार भन्दा बढी विस्थापित भएका थिए । १४ जनाको हत्या, ७ सय बढी पसल, घर टहरा लुटपाट, आगजनी भएको थियो । करिब १ सातासम्म चलेको उक्त हिंसात्मक घटनामा ३ सय भन्दा बढी सवारी साधनका साथै १२ गाविसका ३ हजार बढी घर टहरा जलेर ध्वस्त भएका थिए ।
घटना भएको १५ वर्ष बित्दासमेत पीडितहरूले हालसम्म न्याय र क्षतिपूर्ति पाएका छैनन् । कपिलवस्तु घटनालाई सरकारले बेवास्ता गरेको पीडितहरू बताउँछन् । घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो।
उक्त घटनाबाट पीडित संघर्ष समितिले ०६९ वैशाख ५ गते सर्वोच्च अदालतमा मल्लिक आयोगले सरकारलाई बुझाएको प्रतिवेदन बमोजिम कारबाही तथा क्षतिपूर्तिको माग सहित रिट दायर गरेको थियो। न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले उक्त रिटलाई अग्रस्थान दिई सुनुवाइ तत्काल गर्न निर्देशन दिए पनि हालसम्म अन्तिम फैसला भएको छैन ।
पीडितहरूले अहिले सम्म न्याय पाउन नसकेको सर्घष समितिका संयोजक महादेव पोखरेले बताउनुभयो । “पटक पटक राज्यलाई घचघच्यौ,ज्ञापन पत्र बुझायौ,तर अहिले सम्म सुनुवाइ हुन सकेको छैन, पोखरले भन्नुभयो, “आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, पीडितलाई सरकारले न्याय दिनुपर्छ” । पीडित टिक कुवरले पटक पटक मन्त्रालय देखि उच्च पदस्थलाई भेटेर गुनासो राखे पनि सम्बोधन नभएको बताउनुभयो । पीडितहरूले घटना भएको केही वर्ष कालो दिनको रूपमा मान्ने गरेपछि पछिल्लो समय भने स्मरण मात्र गर्ने गरेका छन् ।
सद्भाव सहरको रूपमा विकास
२०६४को घटनाले चन्द्रौटा आसपास बसाइसराइ हुने गर्दा त्रास सिर्जना भयो । केही समय पछि अवस्था सामान्य बन्दै गर्दा यहाँ बसाइसराई गरेर आउनेको सख्यामा पनि वृद्धि भयो । व्यापारिक प्रतिष्ठानको सख्या पनि उच्च रह्यो । छिमेकी जिल्लाहरू वाट व्यापार गर्न अहिले चन्द्रौटा मुख्य बजारको रूपमा हेर्न सकिन्छ । छोटो समयमा यहाँको विकास भएको छ ।
पछिल्लो समय चन्द्रौटा क्षेत्र सद्भावको सहरको रूपमा विकास भइरहेको छ । यहाँ मुस्लिम,हिन्दु,मधेसी पहाडी सबै समुदाय तथा जातीहरूको बसोबास छ । चाडपर्वहरूलाई सद्भावको रूपमा लिने गरिन्छ । हिन्दुहरूको होली,दसैँ मुस्लिमहरूको इद लगायत पर्वलाई सबैले मनाउने गर्दछन् ।
यहाँको बजार दिनप्रतिदिन बढ्दै गएको छ । व्यावसायिक रूपमा हेर्दा चन्द्रौटाले फड्को मारेको छ । ठुला ठुला उद्योगहरू यहाँ सञ्चालनमा छन् । विकासको बजार आवश्यक रहेको र चन्द्रौटामा सबै क्षेत्रमा विकास भएको चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma