माधव बेल्वासे/ कपिलवस्तु
शिवराज नगर युवा परिषदका नवनिर्वाचित पदाधिकारीहरूले एक भव्य समारोहका बीच औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उक्त कार्यक्रम शिवराज नगरपालिकाका प्रमुख तथा परिषदका अध्यक्ष अजय थापाको नेतृत्वमा सम्पन्न भएको हो। नगर प्रमुख थापाले उपाध्यक्षसहित परिषदका सदस्यहरूलाई सपथ गराउँदै परिषदलाई युवाहरूको नेतृत्वदायी संस्था बनाउन आग्रह गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले पछिल्लो समय युवाहरूको विदेश पलायन तीव्र भइरहेको विषयलाई उठाउँदै स्वदेशमै स्वरोजगारको वातावरण सिर्जना गर्न नीति तथा कार्यक्रमको आवश्यकता रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “देशको समृद्धिका लागि युवाहरूलाई स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नु अपरिहार्य छ। युवाले आफ्नो क्षमता र सिर्जनशीलतालाई उपयोग गर्दै देश निर्माणमा योगदान पुर्याउनुपर्छ।”
यसैगरी, किडार्क नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले पनि युवाहरूको महत्त्वपूर्ण भूमिकाबारे विचार राख्दै समाज रूपान्तरणको अभियानमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई गल्ती गर्ने छुट नरहेको बताए
लुम्बिनी प्रदेश युवा परिषदकी सदस्य राधा बस्नेतले लुम्बिनी प्रदेशमा ४३ प्रतिशत जनसंख्या युवा रहेको तथ्याङ्क प्रस्तुत गर्दै युवाका समस्या समाधानका लागि विशेष नीति र कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले प्रदेश सरकार र स्थानीय तहलाई युवा-मैत्री नीति बनाउन आग्रह गर्नुभएको थियो।
सपथग्रहण कार्यक्रमले युवाहरूलाई नेतृत्व विकास, समाज निर्माण र राष्ट्रिय विकासमा योगदान पुर्याउन प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ। उपस्थित वक्ताहरूले युवाहरूलाई सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर बन्ने प्रेरणा दिएका थिए। कार्यक्रममा वडा अध्यक्षलगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया