Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

चन्द्रौटामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७ सयभन्दा बढी नगरवासी लाभान्वित

लुम्बिनी सिटी अस्पतालको प्राविधिक सहयोगमा आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको आयोजनामा शिवराज नगरपालिकाको चन्द्रौटामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सहज, सुलभ तथा निःशुल्क रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट ७ सयभन्दा बढी नगरवासीहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन्।

शिविरबारे जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका अध्यक्ष नेत्रप्रसाद बेलबासेले शिवराज नगरपालिकामै पहिलोपटक यति ठूलो संख्यामा एकैसाथ स्वास्थ्य जाँच गरिएको बताउनुभयो। नगरवासीहरूलाई निःशुल्क रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेर स्वास्थ्य पहुँच विस्तार गर्न सफल भएको उल्लेख गर्दै उहाँले यस्ता शिविरहरूले आम नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अध्यक्ष बेलबासेले आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनुभयो।

शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण, मुटु रोग,स्त्री रोग,छाला योन रोग,हार्ड जोर्नी नशा ,रेडियोलोजिस्ट तथा अन्य सामान्य रोगसम्बन्धी जाँच तथा परामर्श सेवा प्रदान गरिएको थियो। बिहानदेखि साँझसम्म सञ्चालन भएको शिविरमा बिरामीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

लुम्बिनी सिटी अस्पतालका डाक्टर द्वारिका प्रधानले शिविरमा देखिएको बिरामीको अत्यधिक चापले यस क्षेत्रका नागरिकहरूमा स्वास्थ्य शिक्षा, समयमै जाँच गराउने बानी र रोगसम्बन्धी सचेतनाको कमी रहेको स्पष्ट संकेत गरेको बताउनुभयो। उहाँले रोग जटिल बन्नुअघि नै नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

यस्तै, आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका डाक्टर अमित पाण्डेले निःशुल्क रूपमा सेवा प्रवाह गरेकोमा लुम्बिनी सिटी अस्पतालका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको टोलीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सरकारी तथा निजी क्षेत्रको सहकार्यबाट स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा स्थानीय तहसम्म पुर्‍याउन सकिने बताउनुभयो।

शिविरमा सहभागी स्थानीय बासिन्दाहरूले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन पाउँदा खुशी व्यक्त गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma