कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह हालसम्मको अवस्थालाई हेर्दा अग्रस्थानमा देखिएका छन्। अन्य प्रतिस्पर्धीको तुलनामा बलियो जनसमर्थन रहेको भन्दै उनका समर्थकहरूले शाहको जितको सम्भावना उच्च रहेको दाबी गरेका छन्।
कृष्णनगर निवासी शाह शान्ति सुरक्षा, सीमा व्यवस्थापन तथा क्षेत्रको समग्र विकासका लागि अपरिहार्य उम्मेदवार भएको समर्थकहरूको भनाइ छ। निर्वाचनको समयमा मात्र नभई निरन्तर जनतासँग सम्पर्कमा रहने, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने स्वभावका कारण पनि उनी अन्य उम्मेदवारको तुलनामा बलियो देखिएका छन्। विगतको तुलनामा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ मा एकजुट देखिएको र शाहको व्यक्तिगत छवि पनि सकारात्मक रहेको स्थानीयको मूल्यांकन छ।
यद्यपि दोस्रो स्थानका लागि भने कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव बढ्दै गएको भन्दै कतिपयले नेकपा एमालेभन्दा रास्वपा बलियो बन्दै गएको विश्लेषण गरेका छन्। विशेष गरी क्षेत्रको उत्तरी भेगमा रास्वपाको प्रभाव राम्रो देखिएको छ भने बिजयनगर क्षेत्रमा एमालेको परम्परागत प्रभाव कायम रहेको बताइन्छ। मुस्लिम समुदायको समर्थन निर्णायक बनेमा एमालेले पनि बलियो प्रतिस्पर्धा गर्न सक्ने आकलन गरिएको छ।
कांग्रेसले शिवराज क्षेत्रमा रास्वपासँग तथा बिजयनगर क्षेत्रमा एमालेसँग प्रतिस्पर्धा गर्दै कृष्णनगर क्षेत्रमा अग्रता कायम गर्ने रणनीतिमा रहेको बताइन्छ। यस्तै, रास्वपाको लहर अझै बढेमा एमालेभन्दा अघि बढ्दै कांग्रेससँग प्रत्यक्ष प्रतिस्पर्धामा पुग्ने सम्भावना पनि रहेको विश्लेषण गरिएको छ।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एहशान अहमद खाँ पनि चुनावी मैदानमा बलियो दाबेदारका रूपमा उभिएका छन्। साविक माओवादी पक्षका मत सुरक्षित रहनुका साथै मुस्लिम समुदायको साथ प्राप्त भएमा खाँले पनि प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीसहित गठबन्धनका उम्मेदवार ईश्वर दयाल मिश्राको पनि शिवराज, महाराजगन्ज र कृष्णनगर क्षेत्रमा उल्लेखनीय प्रभाव रहेको बताइएको छ।
समग्रमा हेर्दा कपिलवस्तु क्षेत्र नम्बर ३ मा अभिषेक प्रताप शाह अग्रस्थानमा देखिए पनि अन्य उम्मेदवारबीचको प्रतिस्पर्धाले चुनावी परिणामलाई थप रोचक बनाउने देखिन्छ।
प्रतिक्रिया