
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले धनबहादुर केसीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित समितिमा उपाध्यक्ष पदमा पदम गिरी, सचिवमा प्रकाशन पुन, सह–सचिवमा अनिता ज्ञवाली र कोषाध्यक्षमा दुर्गा भण्डारी चयन हुनुभएको छ।
त्यस्तै, पार्टीको वडा सल्लाहकारमा खुमेन्द्र अधिकारी, जयप्रकाश बेल्वासे, रामबहादुर सुनार, सुभाषचन्द्र थापा, ज्ञानप्रसाद सुवेदी, जगत अधिकारी र लालबहादुर चयन हुनुभएको छ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुका जिल्ला सभापति शिवकुमार सुवेदीले पार्टीप्रति देशभर जनलहर बढ्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा जित सुनिश्चित हुने गरी संगठन विस्तार र जनसेवामूलक काममा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
प्रदेश सदस्य स्वेता गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिएको र युवाहरूको साथ र सहभागितामा राजनीतिक परिवर्तनको नेतृत्व गरिरहेको बताउनुभयो।
अधिवेशनका क्रममा विभिन्न दल परित्याग गरी १ सय ५१ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको नगर संयोजक बालकृष्ण पाण्डेले जानकारी दिनुभयो। उहाँले अघिल्लो सरकारले पार्टी सभापति रवि लामिछानेलाई जेल हालेर राजनीतिक प्रतिशोध साध्ने प्रयास गरेको आरोप समेत लगाउनुभयो।
अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनसमस्या समाधानका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया