Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : केही समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ । अहिले बिहान भने उहाँ हाइकिङ जानुभएको छ ।

हाइकिङबाट फर्किएपछि दिउँसो वाङले समकक्षी खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम छ । भेटका क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले काठमाण्डौबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको हो ।

यस्तै, नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थाको विषयमा विस्तृतमा छलफल हुने भएको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बीआरआई सहकार्यका विषयमा ठोस छलफल गर्ने तयारी छ ।

त्यस्तै, नेपाल र चीनबीच केरुङ–काठमाण्डौ सीमापार रेलसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान सहयोग कार्यान्वयनको विषयमा पनि समझदारी गर्ने तयारी छ ।

चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएकोमा १५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ । यो अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पतालसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ । यसैगरी, नेपालतर्फ आयातमा चिनियाँ कन्टेनरको सङ्ख्या सीमा हटाउन पनि नेपाल सरकारका तर्फबाट आग्रह गर्ने तयारी छ ।

नेपालले तातोपानी र रसुवागढी नाकाबाट तिब्बतर्फ गाडी प्रवेशका लागि पनि आग्रह गर्न लागेको छ । चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरु कोरोनापछि फर्किन नपाएको विषयमा पनि नेपालले विदेशमन्त्री वाङसँग छलफल गर्ने भएको छ ।

नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर गर्ने तयारी छ । रातामाटे—केरुङ विद्युतीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतालाई परिमार्जन गर्ने सहमतिपत्रमा हस्ताक्षर हुनेछ । मुस्ताङमा कोरला सीमा नाका सञ्चालन भएको घोषणा गर्ने सहमतिपत्रमा पनि हस्ताक्षर गर्ने तयारी छ ।

यस्तै ऊर्जासम्बन्धी परियोजनामा पनि भ्रमणका क्रममा हस्ताक्षर हुनेछ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन सम्झौता भने तत्काल अघि नबढ्ने भएको छ । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै प्रगति भएको छैन ।

हिजो नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम  छ ।

दुई नेतालाई भेटेपछि उहाँ भोलि नै स्वदेश फर्किनुहुनेछ । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत हिजो काठमाण्डौ आउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma