Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुमा एमाले–जसपा गठबन्धनः एमालेमा नेता भड्किने त्रास

कपिलवस्तु – कपिलवस्तुमा नेकपा (एमाले) ले जनता समाजवादी पार्टी (जसपा)लाई दुई प्रदेशसभा छाडेको छ ।

शनिबार भएको दुई पार्टी बीचको सहमति अनुसार एमालेले जसपालाई जिल्लाका दुई प्रदेशसभा छाडेको हो ।

गठबन्धनबाट एमालेले तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा पाएको छ ।

एमालेबाट प्रतिनिधिसभा-१ मा बलराम अधिकारीले टिकट पाएका छन् । प्रदेश सभा ‘क’मा भने विष्णु पन्थीले टिकट पाएका छन् । प्रदेशसभा ‘ख’ मा जसपाले पाउने भएको छ । यहाँ जसपाबाट सहसराम यादव चुनाव उठ्दै छन् ।

प्रतिनिधिसभा-२ मा बृजेश कुमार गुप्ताले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन् ।

कपिलवस्तु-३ मा मंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ (क) अर्जुनकुमार केसी र (ख) मा जसपाले उम्मेदवार उठाउने छ । जसपाबाट यहाँबाट को उठ्छ अझै टुङ्गिएको छैन् । स्रोतका अनुसार यहाँबाट अशोक यादव चुनाव लड्दै छन् ।

एमालेले जसपालाई छाडेको दुई प्रदेशसभामा गडबढ देखिएको छ । प्रतिनिधिसभा-१ को ‘ख’मा चुनाव लडाउने गरी लोसपाबाट मधुसुदन चौधरीलाई एमालेले भित्त्राएको थियो । तर चौधरी माथि घात भएको उनी निकट कार्यकर्ताले आरोप लगाएका छन् ।

चौधरी स्वतन्त्र रुपमा चुनाव लड्ने गरी तयारी थालेको जनाइएको छ । शनिबार दिउँसो आफू निकटका नेतासंग भावि राजनीतिक दिशाबारे चौधरीले छलफल गरेका थिए । उक्त छलफलमा एमालेबाट धोका भएको र अब स्वतन्त्र रुपमा उम्मेदवारी दिने गरी निर्णय भएको स्रोतले बताएको छ ।

यता चौधरीले मायादेवी अनलाइनसंग संक्षिप्त प्रतिक्रिया दिदैं स्वतन्त्र उम्मेदवारीबारे अझै नसोचेको बताएका छन् । आज रातिसम्म सोचेर आइतबार थप कदम चाल्ने उनले बताए । एमालेका नेताहरुसंग सम्पर्कमै रहेको भन्दै कतै व्यवस्थापन गर्छौ भनेर आश्वासन दिएको उनले बताए ।

यता जसपाले पाएको प्रतिनिधिसभा-३ को ‘ख’ मा रजाउ अहमद खाँ प्रवल दाबेदारमा थिए । उनले पाउने टिकट खोसिएर जसपाको भागमा परेको छ । खाँ पनि असन्तुष्ट रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma