Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

आम निर्वाचन : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले ठूलो

काठमाडौं –

प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन मत परिणाममा समानुपातिकतर्फ एमालेले लोकप्रिय मत ल्याए पनि सबैभन्दा ठूलो दल भने कांग्रेस बनेको छ। मत प्रतिशत आधारमा हेर्ने हो भने कांग्रेसभन्दा कम्युनिस्टहरूको मत बढी छ।

पाँचवटा कम्युनिस्ट पार्टी र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूले ४५ प्रतिशतभन्दा बढी मत पाएका छन्। कांग्रेस एक्लैले ३२ प्रतिशत बढी मत पाएको छ। यो मत आधारमा मुलुकमा कांग्रेसभन्दा कम्युनिस्टलाई मतदाताले रुचाएको देखाउँछ।

यसपटक कांग्रेसले प्रत्यक्षमा भने ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिट पायो। एमालेले भने प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ। यसकै आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम परिमाणले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएको हो।

समानुपातिकतर्फ लोकप्रिय मत पाएर एमाले दोस्रो दल बन्यो। प्रतिनिधिसभामा कांग्रेसको ८९ सिट हुँदा एमालेको ७८ सिट तय भयो। जम्मा सदरमत १ करोड ५ लाख ६० हजार ८२ मा एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएको छ।

कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको छ। उसले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिट जितेको छ। माओवादी केन्द्रको समानुपातिकमा ११ लाख ७५ हजार ६ सय ८४ मत छ। प्रतिनिधिसभातर्फ पहिलो पटक निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेर चौथो ठूलो शक्तिका रूपमा उदाएको छ। रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ। रास्वपाले समानुपातिकमा माओवादी केन्द्रकै हाराहारी मत ल्याएको छ। उसले ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएको छ।

प्रतिनिधिसभामा २ सय ७५ सिट छ। जसमा बहुमतका लागि १ सय ३८ चाहिन्छ। एकल बहुमतको सत्तारुढ गठबन्धनले समेत यो निर्वाचनमा बहुमत ल्याउन सकेनन्।

अघिल्लो निर्वाचनमा थ्रेस होल्ड कटाउन नसकेर १ सिटमा थन्किएको राष्ट्रिय प्रजातन्त्र पार्टी १४ सिटसहित पाँचौं दलमा उक्लिएको छ। उसले प्रत्यक्ष र समानुपातिकमा ७र७ सिट जितेको छ। ५ लाख ८८ हजार ८ सय ४९ मत समानुपातिकमा जम्मा गरेको छ। अघिल्लो निर्वाचनभन्दा खुम्चिए पनि जनता समाजवादी पार्टीले यो निर्वाचनमा १२ सिट ल्याएको छ। उसले पनि प्रत्यक्षमा ७ र समानुपातिकमा ५ सिट ल्याएको छ। जसपाले समानुपातिकमा ४ लाख २१ हजार ३ सय १४ मत पायो। बिखण्डनको नारा लगाएर राजनीतिमा आएका सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले यो निर्वाचनमा थ्रेस होल्ड कटाउँदै सातौं ठूलो दल भएको छ। प्रत्यक्ष १ सिट जितेको उसले समानुपातिकमा ५ सिट पाएको छ। जनमतको प्रतिनिधिसभामा ६ सिट भएको छ। उसले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको छ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजावादीले यो निर्वाचनमा थ्रेस होल्ड पनि कटाउन सकेन। उसले प्रत्यक्षमा १० सिट जिते पनि थे्रेस होल्ड नकटाउँदा समानुपातिकबाट सिट पाएन। यता पहिलो पटक निर्वाचनमा होमिएको सिके राउतको पार्टी जनमत पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा गरेर समानुपातिकबाट १४ सिट ल्याएको छ।

पहिलो पटक चुनावमा सहभागी भएर चौथो भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै १३ सिट जितेको छ। उसले प्रदेशसभामा भने उम्मेदवारी नै दिएको थिएन। प्रत्यक्षमा जिते पनि एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चाले थ्रेस होल्ड कटाउन सकेनन्। यो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा ४ सिट जितेको छ। भने नागरिक उन्मुक्तिले ३, नेमकिपा, जनमोर्चाले १र१ सिट जितेका छन्। स्वतन्त्रले ५ सिट जितेका छन्। प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन ३ प्रतिशत मत चाहिन्छ भने प्रदेशसभामा १।५ प्रतिशत भए पुग्छ।

गठबन्धनको १३६ सिट, त्रिकुश संसद्
प्रतिनिधिसभामा २ सय ७५ सिट छ। जसमा बहुमतका लागि १ सय ३८ चाहिन्छ। एकल बहुमतको सत्तारुढ गठबन्धनले समेत यो निर्वाचनमा बहुमत ल्याउन सकेनन्।

कांग्रेसको ८९, माओवादी केन्द्रको ३२, एकीकृत समाजवादीको १०, लोसपाको ४ र जनमोर्चाले १ सिट जितेका छन्। यो सबै जोड्दा १ सय ३६ हुन्छ। गठबन्धनलाई सरकार बनाउन २ सिट पुग्दैन। एमाले, राप्रपा र जसपा गठबन्धनको पनि बहुमत पुग्दैन। एमालेको ७८, राप्रपाको १४ र जसपाको १२ गरी १ सय ४ हुन्छ। अब त्रिंकुश सांसद हुने भएको छ।

कुन प्रदेशमा कुन दल ठूलो र?
प्रदेश १ 
; यो प्रदेशमा सबैभन्दा ठूलो पार्टी एमाले भएको छ। यहाँ ६ वटा दलको मात्रै प्रतिनिधित्व हुने भएको छ। एमाले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ सिट जितेको छ। प्रदेशसभामा ४० सिट छ।
दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकतर्फ १२ गरेर २९ सिट जितेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ९ सिट र समानुपातिकमा ४ गरेर १३ सिट जितेको छ। राप्रपाले समानुपातिकमा ४ र प्रत्यक्षमा २ गरी ६ सिटमा विजयी हासिल गरेको छ। एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सिट गरेर ४ सिट जितेको छ। प्रत्यक्ष १ सिट जितेको जसपाले समानुपातिकबाट पनि एक सिट हात पारेको छ। यो प्रदेशमा ९३ सिट छ।

मधेस : मधेस प्रदेशमा पनि एमाले नै ठूलो दल भएको छ। उसले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ सिट जितेको छ। यहाँ कांग्रेस दोस्रो भएको छ। कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिक ९ गरी २२ सिट जितेको छ। जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट हात पारेको छ। त्यस्तै जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिट जितेको छ।

लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरेर ९ सिट आफ्नो पक्षमा पारेको छ। माओवादी केन्द्रले मधेस प्रदेशमा प्रत्यक्षतर्फ ४ सिट मात्रै जितेको छ। उसले समानुपातिकमा ४ सिट नै पाएको छ। उसको मधेस प्रदेशमा ८ सिट भएको छ। एकीकृत समाजवादीको प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट गरेर ७ सिट जितेको छ।

बागमती : बागमतीमा १ सय १० सिटका लागि निर्वाचन भएको हो। जसमा कांग्रेसले सबैभन्दा धेरै ३७ सिट जितेको छ। उसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ सिट हात परेको छ। एमालेले समानुपातिकमा १४ सिट जिते पनि प्रत्यक्षमा १३ मात्रै जित्दा दोस्रो दल भएको छ। उसले कांग्रेसभन्दा १० सिट कम २७ सिट जितेको छ।

गण्डकी : यहाँ एकीकृत समाजवादीले प्रत्यक्ष र समानुपातिक दुवैमा एक सिट जित्न सकेन। तर, पछिल्लो समयमा प्रदेशसभा सदस्य दीपक मनाङ्गे एकीकृत समाजवादीमा प्रवेश गरेर खाता खोलिदिएका छन्। यो प्रदेशमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी २७ सिट जितेको छ। एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट गरी २२ सिट आफ्नो पक्षमा पारेको छ।
यहाँ माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट जितेको छ। राप्रपाले प्रत्यक्षमा नजिते पनि समानुपातिकबाट २ सिट हात पारेको छ।

लुम्बिनी : यो प्रदेशमा पनि एमाले ठूलो पार्टी भएको छ। एमालेले प्रत्यक्षमा १८ सिट जितेको छ भने समानुपातिकबाट पनि ११ सिट हात पारेको छ। एमालेको यो प्रदेशमा २९ सिट भएको छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरेर २७ सिट आफ्नो पक्षमा पारेको छ।

माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ४ गरी ९ सिट हात पारेको छ। त्यस्तै जसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट गरेर ३ सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा २ र समानुपातिकमा २ गरेर ४ सिट जितेको छ। लोसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ गरी ३ हात पारेको छ। राप्रपाले भने प्रत्यक्षमा २ र समानुपातिकमा २ सिट गरेर ४ सिट विजयी हासिल गरेको छ।

कर्णाली : कर्णाली प्रदेशमा एमाले तेस्रो दल भएको छ। उसलाई कांग्रेस र माओवादी केन्द्रले उछिनेका छन्। कांग्रेसले प्रत्यक्षमा ९ र समानुपातिकमा ५ गरी १४ सिट जितेको छ भने माओवादी केन्द्र प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरेर १३ सिट हात पारेको छ। एमालेले प्रत्यक्षमा ५ र समानुपातिकमा ५ गरी १० सिट मात्रै जितेको छ। यो प्रदेशबाट एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्। प्रत्यक्षमा नजितेपनि यो प्रदेशबाट एकीकृत समाजवादीले समानुपातिकबाट एक सिट पाएको छ। यो प्रदेशमा ४० सिट छ।

सुदूरपश्चिम : यो प्रदेशमा प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सिट गरी १९ जितेर कांग्रेस पहिलो दल भएको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सिट गरी ११ जितेर दोस्रो दल भएको छ। एमालेले भने समानुपातिकमा सबैभन्दा धेरै मत ल्याए पनि प्रत्यक्षमा थोरै सिट जित्न तेस्रो शक्तिमा खुच्चिन बाध्य भएको छ। एमालेले प्रत्यक्षमा ३ र समानुपातिकमा ७ गरी १० सिट जितेको छ।

त्यस्तै कैलालीको टीकापुर घटनाबाट उदाएको नाउपाले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट जितेर निर्णायक शक्ति भएको छ। एकीकृत समाजवादीले यो प्रदेशमा प्रत्यक्षबाट ३ र समानुपातिकबाट १ गरी ४ सिट जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma