
कपिलवस्तुको शिवराज नगरपालिकाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहजताको लागि सामग्री वितरण गरेको छ । शुक्रबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख अजय थापा, उप–प्रमुख शिवकुमारी थारु र वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्त रूपमा सामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा ९ जनालाई व्हीलचेयर, २ वैशाखि ,२ ट्राइसाइकल, ३ जनालाई एयर कुशन, १ जना लौरो, ३ जना हेडफोन प्रदान गरिएको नगर प्रमुख थापाले जानकारी दिए ।
नगर प्रमुख थापाले अपाङ्गता भएका नागरिकहरूको दैनिकी सहज बनाउनका लागि पालिकाले निरन्तर सहयोग गर्दै आएको बताए । “शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई केही मात्रामा भए पनि जीवनयापनमा सहजता होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको हो,” उनले भने । उप–प्रमुख शिवकुमारी थारुले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक रूपमा सशक्त बनाउने लक्ष्यका साथ शिवराज नगरपालिका अघि बढिरहेको बताइन् । उनले भनिन्, “अपाङ्गता भएका नागरिक पनि समाजका अभिन्न हिस्सा हुन् । उनीहरूको अधिकार र आवश्यकता प्रति संवेदनशील भएर काम गर्नु हाम्रो दायित्व हो ।”
त्यसैगरी वडा अध्यक्ष टेकलाल सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुको अभिलेख तथा सहयोगका कार्यहरु भइरहेको बताए ।


प्रतिक्रिया