
कपिलवस्तु ।
बुद्धशक्ति कराते डोजोको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा आजदेखि प्रदेशस्तरीय खुल्ला कराते च्याम्पियनसिप–२०८२ सुरु भएको छ । दुई दिनसम्म चल्ने यो प्रतियोगितामा प्रदेशभरका करिब ७०० खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खेलाडी राष्ट्रका गहना भएको बताउँदै सरकारले खेलाडीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – “खेलाडी खुसी नभए राष्ट्र खुसी हुन सक्दैन । न्याय, स्वतन्त्रता र प्रतिभाको रक्षा राज्यले गर्नैपर्छ ।”
महासचिव विप्लवले देश अहिले गम्भीर मोडमा रहेको उल्लेख गर्दै भने – “देशमा स्वाधीनता नै खतरा मा परेको छ, यो अवस्थामा देश बचाउन सकेनौं भने आउँदो पुस्ताले प्रश्न गर्नेछ ।” उहाँले देशभर ठूला कार्यक्रम हुन नसकिरहेको समयमा कपिलवस्तुको चन्द्रौटामा यस्तो भव्य प्रतियोगिता हुनु सकारात्मक सन्देश भएको पनि बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापाले खेल स्वास्थ्य, अनुशासन र राष्ट्रप्रेमसँग जोडिएको क्षेत्र भएकाले युवालाई खेलतर्फ आकर्षित गर्न यस्तो कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
प्रदेशभरका खेलाडीहरूले विभिन्न तौल समूह र श्रेणीमा प्रतिस्पर्धा गर्ने उक्त च्याम्पियनसिप असोज २५ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया