कपिलवस्तु । शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, स्थानीय सुशासन तथा सामुदायिक विकासमा पुर्याएको योगदानको कदर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका राष्ट्रिय स्तरमा सम्मानित भएको छ ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) द्वारा जनकपुरधाममा आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को उद्घाटन समारोहमा शिवराज नगरपालिकालाई ‘बेस्ट पालिका अफ द इयर २०८३’ तथा लुम्बिनी प्रदेशको ‘सर्वोत्कृष्ट शिक्षा पालिका सम्मान’ प्रदान गरिएको हो ।
सम्मेलनका प्रमुख अतिथि एवं नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापालाई सम्मानपत्र तथा ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।
शैक्षिक उत्कृष्टता, नवीन शैक्षिक कार्यक्रमको कार्यान्वयन, विद्यार्थीमैत्री वातावरण निर्माण तथा शिक्षा क्षेत्रको सुधारमा नगरपालिकाले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
शिवराज नगरपालिकाले सामुदायिक विद्यालय तथा मदरसा शिक्षाको सुदृढीकरण, कक्षा १२ सम्म निःशुल्क शिक्षाको कार्यान्वयन, विद्यालयको भौतिक पूर्वाधार विकास तथा विद्यार्थी प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । विशेषगरी शिक्षामा सर्वसाधारणको पहुँच विस्तार र स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय स्तरमा प्राप्त यस सम्मानले शिवराज नगरपालिकाको शैक्षिक तथा संस्थागत पहिचान थप उचाइमा पुर्याएको छ । यद्यपि, सम्मानलाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्न विद्यालयको सिकाइ उपलब्धि, विद्यार्थीको नतिजा, शिक्षक व्यवस्थापन र सबै समुदायको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउनुपर्ने चुनौतीसमेत रहेको छ ।


प्रतिक्रिया