Developed By Kuldeep Sharma

१० घण्टा अगाडि

दुर्गेश नन्दनी आधारभूत विद्यालयमा दुई कोठे भवनको शिलान्यास

 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ११ स्थित दुर्गेश नन्दनी आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ। निर्माण हुन लागेको भवनको शिलान्यास प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह ले गर्नुभएको हो।
सिद्धार्थ सामाजिक विकास केन्द्र तथा शिवराज नगरपालिका वडा नम्बर ११ को कार्यालयको संयुक्त लगानीमा निर्माण हुन लागेको उक्त भवनको लागत ३६ लाख ६ हजार १ सय रुपैयाँ रहेको बताइएको छ। जसमा सिद्धार्थ सामाजिक विकास केन्द्रको ३१ लाख ६ हजार १ सय रुपैयाँ तथा वडा कार्यालयको ५ लाख रुपैयाँ लगानी रहने वडा अध्यक्ष रामेश्वर बर्मा ले जानकारी दिनुभयो।
शिलान्यास कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह ले विद्यालयलाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले विगतमा हिमाल, पहाड र तराईमा एउटै प्रकृतिका भवन निर्माण गर्ने नीतिका कारण विद्यालयहरू समस्यामा परेको उल्लेख गर्दै आवश्यकताको आधारमा उपयुक्त भवन निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा ले सिद्धार्थ सामाजिक विकास केन्द्रले निःशुल्क शिक्षालाई साथ र सहयोग गर्दै आएको बताउनुभयो। उहाँले माध्यमिक तहसम्मको निःशुल्क शिक्षालाई शिवराज नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
भवन निर्माण कार्य तोकिएको समयमा गुणस्तरीय ढंगले सम्पन्न गरिने सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरी ले बताउनुभयो।
कार्यक्रममा समाजसेवी प्रेम रायमाझी, केसरी जयसवाल लगायतको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma