नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले संविधान संशोधनका विषयमा सत्तारुढ दलले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन कपिलवस्तुको चन्द्रौटा पुगेका पौडेलले पत्रकार सग कुराकानी गर्दै झण्डै दुई तिहाइको सरकारले संविधान संशोधनको कुरा गरिरहेको भए पनि कुन–कुन विषय र बुँदा संशोधन गर्न खोजिएको हो भन्ने अझै स्पष्ट नभएको बताए।
उनले सरकारले संशोधन गर्न चाहेका विषय स्पष्ट रूपमा अघि सारेपछि मात्रै नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा तय गर्ने उल्लेख गरे। पौडेलले कांग्रेसको धारणा भने स्पष्ट रहेको बताउँदै संघीयतालाई अझ छरितो, प्रभावकारी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए। साथै पूँजीगत खर्च वृद्धि, पारदर्शिता कायम गर्न आवश्यक कानुन निर्माण तथा सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।
महामन्त्री पौडेलले कार्यदलहरू केवल जनताको गुनासो सुन्ने माध्यम मात्रै बन्न नहुने भन्दै योजना निर्माण र कार्यान्वयनमा समेत सक्रिय हुनुपर्ने धारणा राखे।
उनले संसद छलेर अध्यादेश ल्याउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री अनुपस्थित भाग्ने, सुकुम्बासीको उठिबास लगाउनेजस्ता गतिविधिले सरकार नागरिकमैत्री नभएको स्पष्ट देखिएको टिप्पणी गरे।
जरा अभियानले पार्टी संगठनलाई एकढिक्का बनाएर डिजिटल प्रणालीमार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै पौडेलले आधुनिक प्रविधिको प्रयोगमार्फत संगठनलाई बलियो बनाउनुपर्ने बताए।


प्रतिक्रिया