Developed By Kuldeep Sharma

७ घण्टा अगाडि

हिमपात साना किसान कृषि सहकारीको १०औँ वार्षिक साधारणसभा सम्पन्न

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्रमा रहेको हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा शनिबार चन्द्रौटामा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको प्रगति, आर्थिक अवस्था, उपलब्धि तथा आगामी योजनाका विषयमा छलफल गरिएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष जीवन केसीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले स्थापनाकालदेखि हालसम्म हासिल गरेका उपलब्धि, सञ्चालन गरेका गतिविधि तथा सदस्यहरूको आर्थिक र सामाजिक जीवनस्तर सुधारका लागि गरेका प्रयासबारे जानकारी गराउनुभएको थियो।

त्यस्तै, संस्थाकी प्रबन्धक सरस्वती क्षेत्रीले १७ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाको आर्थिक कारोबार, वित्तीय अवस्था तथा सहकारीमार्फत सदस्यहरूलाई प्रदान गरिँदै आएका सेवा सुविधाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका संस्थापक नगरप्रमुख नेत्रराज अधिकारीले सहकारी संस्थाहरूले कृषकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले छोटो समयमै हिमपात साना किसान कृषि सहकारीले उल्लेखनीय प्रगति गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि कृषकलाई कृषि उत्पादन, व्यवसाय विस्तार र आर्थिक उन्नतिका लागि थप ऊर्जा तथा प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेले हिमपात सहकारीका कारण स्थानीय क्षेत्रका धेरै कृषकलाई आर्थिक तथा कृषि गतिविधिमा सहजता पुगेको बताउनुभयो। सहकारीले कृषकको आवश्यकता बुझेर सेवा प्रवाह गर्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन थप सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा वडा अध्यक्ष रामबहादुर चौधरी, सहकारी सञ्जालका अध्यक्ष शरद अधिकारी, विष्णुप्रसाद खतिवडा, हेमराज शर्मालगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको विकास, सदस्यहरूको आर्थिक सशक्तीकरण र कृषि क्षेत्रको व्यावसायीकरणमा संस्थाले पुर्‍याएको योगदानबारे चर्चा गर्नुभएको थियो।

साधारणसभाको अवसरमा संस्थाको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma