कपिलवस्तु । आफूलाई हृदयाघात भएको अवस्थामा समेत यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिएका कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटाका ४४ वर्षीय सन्तोष खत्रीको उपचारका लागि लैजाँदै गर्दा निधन भएको छ। खत्रीले आफ्नो अन्तिम क्षणमा देखाएको जिम्मेवारी र साहसका कारण १५ जना यात्रुको ज्यान जोगिएको छ।
कार्तिक २७ गते शुक्रबार दिउँसो करिब १ बजे लु ००१ ख ६५३ नम्बरको सवारीसाधन लिएर दोस्रो ट्रिपका लागि बुटवलतर्फ हिँडेका खत्री खरेन्द्रपुरस्थित सुपा मन्दिर जाने क्रममा अचानक छाती दुखेर असहज भएका थिए। उनलाई गाडीमै पहिलो चरणको हृदयाघात भएको हुन सक्ने अनुमान गरिएको छ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि पनि उनले धैर्य गुमाएनन्। आफूले चलाइरहेको सवारीसाधनमा यात्रु रहेको अवस्थालाई ध्यानमा राख्दै गाडीलाई सुरक्षित स्थानमा पार्किङ गर्न सफल भए। उनको यही सतर्कता र जिम्मेवारीका कारण सवारीसाधनमा सवार १५ जना यात्रु सकुशल रहे। स्वास्थ्य अवस्था गम्भीर हुँदै गए पनि उनले सम्भावित ठूलो दुर्घटना हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।
सवारीधनी केसर बस्नेतका अनुसार खत्रीले सवारीसाधन सुरक्षित रूपमा पार्किङ गरेपछि उनलाई उपचारका लागि बुटवल लैजाने व्यवस्था गरिएको थियो। तर, उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै उनको निधन भयो।
बस्नेतले खत्रीले आफूलाई स्वास्थ्य समस्या हुँदासमेत यात्रुको सुरक्षामा ध्यान दिएर १५ जनाको ज्यान जोगाएको बताए। खत्रीको निधनले आफूहरूलाई स्तब्ध बनाएको उनको भनाइ छ।
सामान्यतया चालकको स्वास्थ्यमा अचानक समस्या आउँदा सवारीसाधन अनियन्त्रित भएर ठूलो दुर्घटना हुन सक्ने जोखिम रहन्छ। तर, खत्रीले आफू असहज अवस्थामा हुँदासमेत संयमता अपनाएर सवारीसाधन सुरक्षित रूपमा रोके। आफ्नो जीवन संकटमा पर्दासमेत यात्रुको जीवनलाई जोखिममा पर्न नदिने उनको अन्तिम प्रयासले उनको कर्तव्यनिष्ठा र जिम्मेवारीबोध झल्काएको छ।
आफ्नो अन्तिम क्षणमा समेत १५ जना यात्रुको जीवन सुरक्षित राख्न सफल सन्तोष खत्रीको निधनले चन्द्रौटा क्षेत्र शोकमा परेको छ। उनको यो जिम्मेवारीपूर्ण कदम यात्रु तथा सवारीसाधनको सुरक्षाका दृष्टिले सधैँ स्मरणीय रहनेछ।
१५ जनालाई सुरक्षित राखेर आफू भने संसारबाट बिदा भएका सन्तोष खत्रीप्रति हार्दिक श्रद्धाञ्जली


प्रतिक्रिया