Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

आज तीज घरघरमै मनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाण्डौ – आज हरितालिका तीज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । आज व्रत बसेर शिव पार्वतीको पूजाआराधना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

गएराति मिठा एवं पोषिला परिकार दरका रुपमा खाएर व्रतको पूर्व तयारी गरेका व्रतालु आज बिहानै व्रत बसेर शिवालयमा गएर पूजाआजा गर्छन् ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई लिने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता पीर मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन छ ।

पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको भन्दै संस्कृतिविदले चिन्ता व्यक्त गर्ने गरेका छन् । यसैबीच यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालय बन्द भएपछि महिलाहरुले घरमै बसेर पूजाआजा गरिरहेका छन् ।

मन्दिरहरु सुनसान रहेका छन् । महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले धार्मिक स्थल बन्द गरेको छ भने स्वास्थ्यकर्मी र डाक्टरले पनि मन्दिर नजान सुझाव दिएका छन् । सरकारको निर्देशनअनुसार महिलाले घरमै तीज मनाइरहेका छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह गर्नुभएको छ । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी चाड मनाउन आग्रह गर्दै यो वर्ष भेटघाट र जमघट गर्न सकिने अवस्था नभएकोले घरमै मनाउन आग्रह गर्नुभयो ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कोरोना भाइरसका कारण उत्पन्न प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन आग्रह गर्नुभएको छ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma