

राष्ट्रीय स्वतन्त्र पार्टी शिवराज नगर समितिको आयोजनामा प्रतिनिधि सभा सदस्य सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
चन्द्रौटा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा क्षेत्रका विभिन्न समस्या, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले स्थानीय तहमा देखिएका समस्या, जनताले भोग्दै आएका कठिनाइ तथा विकासका आवश्यकताबारे आफ्ना धारणा राखेका थिए।
छलफलका क्रममा सडक, खानेपानी, स्वास्थ्य सेवा, शैक्षिक सुधार, कृषिको विकास र बेरोजगारीजस्ता विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। सहभागीहरूले जनताका आधारभूत आवश्यकताहरू अझै पनि प्रभावकारी रूपमा सम्बोधन हुन नसकेको भन्दै गुनासो समेत व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै सांसद पुनम अग्रवालले क्षेत्रका समस्याहरूलाई नजिकबाट बुझ्न यस्ता अन्तरक्रिया कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले उठाइएका सबै समस्याहरूलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, उहाँले प्रत्येक महिना निर्वाचन क्षेत्रमा नियमित रूपमा आउने र स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै समस्याहरू संकलन गर्ने बताउनुभयो। साथै, ती समस्याहरूलाई केन्द्र सरकारसम्म पुर्याई समाधानका लागि प्रभावकारी रूपमा पहल गर्ने समेत उहाँको भनाइ थियो।
कार्यक्रममा स्थानीय राजनीतिक नेतृत्व, पार्टीका कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। यस्तो प्रकारको छलफल तथा अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा जिल्ला सभापती शिव सुवेदि ,रासिद मिर्जा बालकृष्ण पाण्डे लगायत ले सम्बोधन गर्नुभएको थियो |


प्रतिक्रिया