

कपिलवस्तु — कपिलवस्तुको क्षेत्र नं. ३ मा निर्वाचन क्षेत्र लक्षित योजना पहिचान कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र तथा भेटनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख सुकइ प्रसाद थारुले बजेट, योजना तथा लक्ष्यबारे विस्तृत जानकारी दिनुभयो। उहाँले कृषि तथा पशु विकासका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय र योजना निर्माणको महत्व औंल्याउनुभयो।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्थानीय तहले कृषि तथा पशु विकासलाई नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले देशको समृद्धिको मूल आधार नै कृषि क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा लगानी र योजना बढाउनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले आफ्नो पालिकाले हरेक वर्ष कृषि र पशु विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय तहअनुसार समूह विभाजन गरी आगामी योजनाहरू तय गरिएको थियो। सहभागी कृषकहरूले आफ्ना अनुभव, समस्या तथा धारणा राख्दै कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि सुझाव दिएका थिए।


प्रतिक्रिया