Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एसिड आक्रमणमा परेकाहरुलाई प्रधानमन्त्री ओलीले सामूहिक भेट्दै

काठमाडौं । एसिड आक्रमणमा परेकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक रुपमा नै भेट गर्ने भएका छन् ।

अपराधीहरुको एसिड आक्रमणमा परेकाहरुलाई हौसला दिनका लागि पनि प्रधानमन्त्रीले सामूहिक रुपमा भेट्न लागेका हुन् ।

भदौ २५ गते बालुवाटारस्थित सरकारी निवासमा नेपालमा रहेका सबै एसिड पीडितहरुलाई भेट्ने समय मिलाएका छन् । एसिड आक्रमणमा परेकाहरुको उपचार र उद्दारका लागि निरन्तर खटिरहेका अभियन्ता उज्वल विक्रम थापाले भदौ २५ गते प्रधानमन्त्री ओलीले सम्पूर्ण एसिड पीडितहरुलाई भेट्ने आफूलाई जानकारी गराएको बताए ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका अभियन्ता थापालाई महान्यायाधिवक्ता अग्नि खरेलले भदौ २५ गते प्रधानमन्त्रीले एसिड पीडितलाई सामूहिक रुपमा भेट्ने जानकारी गराएका थिए ।

नेपालभर एसिड आक्रमणमा परेका १७ जना छन् । काठमाडौं बाहिर रहेकाहरुलाई काठमाडौं ल्याउन समेत प्रधानमन्त्रीले सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।

हिजो भएको भेटमा अभियन्ता थापाले प्रधानमन्त्रीलाई एसिड आक्रमण रोक्नका लागि कडा कानुन तत्काल बनाउन सुभाव दिएका थिए ।

भदौ २५ गते हुने सामूहिक भेटमा प्रधानमन्त्री ओलीले कानुन निर्माणका लागि सुझाव लिनुका साथै एसिड आक्रमणमा परेकाहरुलाई विशेष प्याकेज घोषणा गर्ने अपेक्षा पीडितहरुको छ ।

एसिड आक्रमणमा परेकाहरुको उपचारका लागि निरन्तर सहयोग गर्दै आएका थापाले एसिड विक्रीदेखि आक्रमण गर्नेहरुलाई कारवाही सशक्त बनाउन माग गर्दै आएका छन् ।

मानवीयताका नाताले एसिड आक्रमणमा परेका महिला र पुरुषहरुलाई सहयोग गर्दै आएका अभियन्ता थापाको सत्प्रयासमा नीतिगत तहमै सुनुवाई भएकाले आफूलाई खुशी भएको समेत उनले बताए ।

मंगलबार प्रधानमन्त्रीसँग २ घण्टा बढी समय बालुवाटार निवासमा छलफल गरेका थापाले भने, ‘प्रधानमन्त्रीज्यूको सकारात्मक सोंच र उदारताका लागि धन्यवाद भन्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma