अर्घाखाँची २१ भदौ
अर्घाखाँचीको शितगंगा १३ स्थित बुद्ध आधारभूत विद्यालयमा भदौ १० गतेको शिक्षक भर्ना प्रक्रिया अवैध पाइएको छ । सोहि वडाका वडा अध्यक्ष दुर्गा विसीले आफ्नी श्रीमर्ती सुनिता विसी चुदाँलीलाई राहत शिक्षक भर्ना गर्दा पूर्ण रुपमा प्रक्रिया मिचेर नियुक्त गरेको भेटिएको छ । शिक्षा नियमावली ऐन २०७६ मिचेर प्राधानाध्यापक तथा वडा अध्यक्ष मिलेर शिक्षक नियुक्ति गरेपछि विवाद सिर्जना भएको छ । विवाद पछि शिक्षा विकास तथा समन्वय ईकाई अर्घाखाँची, शितगंगा नगरपालिकाले आवश्यक छानबिन सुरु गरेको छ ।

अनुमति नै नलिई भर्ना : शिक्षा विकास तथा समन्वय ईकाई अर्घाखाँचीले शितगंगा १३ स्थित बुद्ध आधारभूत विद्यालयले नयाँ शिक्षक भर्ना अनुमति नै नलिएको बताएको छ । विद्यालयमा रिक्त रहेको अंग्रेजी विषयको शिक्षक नियुक्त गर्नुपर्नेमा नेपाली विषयको शिक्षक भर्नाको अनुमति माग्न आएपछि आफुले अंग्रेजी विषयकै शिक्षक बाहेक अरु विषयको शिक्षक भर्ना गर्न अनुमति नदिएपछि अवैध तरिकाले भर्ना गरेको जिल्ला शिक्षा समन्वय प्रमुख मनिराम पराजुलीले बताउनुभयो । “यो भर्ना प्रक्रिया पुर्ण रुपमा अवैध छ जिल्ला शिक्षा विकास समन्वय ईकाले मान्यता दिदैन” उहाले भन्नुभयो ।

आवेदन दिने ३ जनामा साली र कार्यकर्ता : वडा अध्यक्ष विसीले श्रीमतीलाई जागिर खुवाउन ४ जनाको आवेदन दिन लगाए । काठमाण्डौ बस्ने आफ्नै साली निर्मला चुदाँली र उनकी साथी विमला केसीका कागजात मगाए र आवेदक बनाए । विद्यालय श्रोतकै दाबी मान्ने हो भने तीनै जनाका आवेदन समेत त्यहि लेखिएको र उनीहरुको हस्ताक्षर समेत नक्कली हो । त्यस मध्ये परिक्षामा ३ जना अनुपस्थित भए भने वडा अध्यक्षकी श्रीमती सुनिता चुदाली मात्र उपस्थित भईन् । प्रक्रिया अनुसार आवेदक मध्ये ३ जना अनिवार्य परिक्षामा हुनुपर्ने अन्यथा ७ दिने सुचना निकाल्नुपर्ने थियो तर त्यहि दिन विना परिक्षा उपस्थित भएकै आधारमा परिक्षा पास गरि शिक्षक नियुक्ति दिइयो ।

वडा अध्यक्ष विसी माथि किर्ते नागरिकता मुद्धा : नककली प्रमाण तथा अवैध बाटो श्रीमतीलाई शिक्षक बनाउन लागेका वडा अध्यक्ष विसी नक्कली नागरिकता बनाउन किर्ते प्रमाण खडा गरेको आरोपमा मुद्धा खेपिरहेका छन् । अर्घाखाँचीमा नक्कली बुबा आमाको नाता कायम गरी भारतीय महिलालाई बंशजको नागरिकता बनाईदिएको आरोपमा २०७४ भदौमा वडा अध्यक्ष विसी पक्राउ परेका थिए । नक्कली बाबु बनि झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएको उजुरी पछि सीता भाट क्षेत्री र कर्ण बहादुर भाट क्षेत्री पक्राउ परेका र उनीहरुकै बयानको आधारमा वडा अध्यक्ष विसी पक्राउ परेका थिए । वडा नम्वर–१३ सिमलपानी डढुवाका चुडामणि भाट क्षेत्रीले भारतको झारखण्ड माईती घर भएकी श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन वडा अध्यक्ष संग मिलेर झुठो विवरण पेश गरि नागरिकता बनाएका थिए । नक्कली नागरिकता सिफारिश गरेका विसीलाई तत्कालिन जिल्ला अदालतले ७७ हजार रूपैयाँ धरौटी लिएर छाडेको थियो । त्यस यता उनी मुद्धा अल्झाएर तारेखमा बस्दै आएका छन् भने मुद्धा मुल्तबी हुदै आएको छ । सोहि मुद्धामा २ जना पुर्पक्षका लागि थुनामा छन् ।

0Shares