माधव बेल्वासे
चन्द्रौटा,कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । नगरपालिकाले १५ औँ नगर सभा अन्तर्गत आइतवार नीति तथा कार्यक्रम नगरप्रमुख अजय थापा र बजेट उपप्रमुख शिवकुमारी थारुले प्रस्तुत गरेका हुन् । चालु वर्षको तुलनामा २ करोड २८ लाख कमी बजेट आएको छ ।
सभामा उपप्रमुख थारुले आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ७९ लाख ५६ हजार बराबरको आय–व्यय प्रस्तुत गरेकी छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि वडा स्तरीय योजनामा १० करोड, नगर स्तरीय योजनामा १० करोड, सामाजिक विकास तर्फ ५५ लाख,शिक्षा युवा खेलकुद तर्फ ८ करोड ३५ लाख,स्वास्थ्य शाखा तर्फ ३ करोड ५० लाख,कृषि विकास तर्फ १ करोड,पशु विकास तर्फ ५० लाख विनियोजन गरिएको छ ।
नगरप्रमुख थापाले सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउँदै वित्तीय अनुशासन र सुशासन कायम गर्ने, नगरवासीको न्यूनतम आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने, कृषिको व्यवसायीकरण र पर्यटन विकासलाई जोड दिएको बताए । स्थानीय साधन श्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजनाहरू समावेश गरेको थापाको भनाई । नगरभित्रका उद्यम गर्न चाहानेलाई ऋण उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
चालु वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा बजेट विनियोजन भएको उनले बताए । आगामी वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम मेयर रोजगार कार्यक्रम, पढ्दै पढाउँदै कार्यक्रम,उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई मेयर उपमेयर छात्रवृत्ति वितरण,नगरभित्रका चोकमा सिसिटिभी क्यामरा लगायतका कार्यक्रम समेत समावेश गरिएको छ । पशु बिरामी भएको खण्डमा अनकलको सेवा सुरु गर्ने भएको छ । गत वर्ष हुन नसकेको मौवा प्रवर्द्धन कार्यक्रम यस वर्ष पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । थाकलका सामाग्री बनाउन नगरपालिकाले ढाइ लाख बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाभित्र यो आर्थिक वर्षमा ७.५ किमि सडक कालोपत्रे तथा मर्मत भएको नगरप्रमुख अजय थापाले बताए । यो वर्ष नगरपालिकाभित्र कुल १७ किमि सडक ग्राभेल गरिएको छ । करिब २ करोड लागतमा जवइ सिंचाइ आयोजना निर्माणाधिन रहेको छ । १५ सैयाको शिवराज आधारभुत अस्पतालको लागि जग्गा प्राप्ति भइ निर्माणको चरणमा छ । नगरसभाले शिवराज नगरपालिका वडा ५ लाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखा अधिकृत,कृषि विकास अधिकृत, पशु विकास अधिकृतहरुलाई समेत सम्मान गरिएको छ ।


प्रतिक्रिया