Developed By Kuldeep Sharma

६ घण्टा अगाडि

आधारभुत अस्पतालको ३८ लाख प्रकरण :  एक महिना बित्दा पनि न पैसा फिर्ता, न कसैलाई कारबाही !”

कपिलवस्तु — शिवराज नगरपालिकास्थित आधारभुत अस्पतालमा ३८ लाख रुपैयाँ हिनामिनाको गम्भीर प्रकरण सार्वजनिक भएको करिब एक महिना पुग्न लाग्दा पनि अनुसन्धानमा ठोस प्रगति हुन सकेको छैन। नक्कली भौचर प्रयोग गरी रकम ‘झ्वाम’ पारिएको चर्चा स्थानीयदेखि राष्ट्रिय स्तरसम्म फैलिएको भए पनि न रकम फिर्ता भएको छ, न त कसैलाई नियन्त्रणमा लिइएको छ।

अस्पताल प्रशासनले भने आफूहरूले सम्बन्धित बैंकमा रकम जम्मा गरेको दाबी गर्दै आएको छ। प्रशासनका अनुसार भौचरका आधारमा रकम बुझाइएको हो र संस्थाको तर्फबाट कुनै कमजोरी नभएको जिकिर गरिएको छ।

तर, सम्बन्धित बैंकले भने उक्त भौचरमा प्रयोग गरिएको छाप (स्ट्याम्प) नक्कली भएको स्पष्ट पार्दै सो कारोबारप्रति आफूहरू जिम्मेवार नभएको बताएको छ। बैंकको भनाइअनुसार आधिकारिक प्रणालीमा त्यस्तो रकम जम्मा भएको कुनै अभिलेख नै छैन।

यो विरोधाभासपूर्ण दाबीका कारण घटनाको सत्यतथ्य अझै अन्योलमै रहेको छ। नगरवासी तथा सरोकारवालाहरूले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। सार्वजनिक संस्थामा यति ठूलो रकम हिनामिना हुँदा पनि ढिलासुस्ती हुनुले शंका झनै बढाएको स्थानीयको भनाइ छ।

शिवराज नगरपालिकाले भने घटनाबारे छानबिन भइरहेको जनाएको छ, तर हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरिएको छैन। यस प्रकरणले सार्वजनिक निकायमा आर्थिक पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma