Developed By Kuldeep Sharma

१ घण्टा अगाडि

शिवराजमा कांग्रेसको जरा अभियान कार्यक्रम सम्पन्न

 

नेपाली कांग्रेस शिवराज नगर समितिको आयोजनामा जरा अभियान तथा क्रियाशील सदस्यता अध्यावधिक सम्बन्धी विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठनलाई वडा तहदेखि अझ सशक्त र व्यवस्थित बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमल भुसाल ले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीभित्र रहेका गुट–उपगुट अन्त्य गर्दै साझा उद्देश्यका साथ संगठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो। “नेपाली कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ,” भन्दै उहाँले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई अझ चलायमान बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

भुसालले कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस विजयी हुनु संगठनको मजबुत अवस्था र जनतासँगको सम्बन्धको परिणाम भएको बताउँदै अब यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो। उहाँले जरा अभियानले पार्टीको आधार तहसम्म पुगेर पुराना तथा नयाँ कार्यकर्तालाई जोड्ने काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य ले जरा अभियान पार्टी सुदृढीकरणको महत्वपूर्ण अभियान भएको बताउँदै सक्रिय सदस्यता अध्यावधिकलाई व्यवस्थित रूपमा अघि बढाउन निर्देशन दिनुभयो। उहाँले पार्टीका हरेक कार्यकर्ता संगठनको मेरुदण्ड भएकाले उनीहरूको सक्रियता र भूमिकालाई उच्च महत्व दिनुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाह ले पार्टीको नीति, विचार र संगठनलाई जनस्तरसम्म पुर्‍याउन जरा अभियान प्रभावकारी हुने बताउनुभयो। जिल्ला सभापति अब्दुल कलाम ले क्रियाशील सदस्यता अध्यावधिकले पार्टीलाई अझ व्यवस्थित बनाउने उल्लेख गर्दै सबैलाई जिम्मेवार ढंगले अभियानमा जुट्न आग्रह गर्नुभयो।

कार्यक्रममा हरि पोख्रेल, अमर पौडेल लगायतका नेताहरूले जरा अभियानको आवश्यकता, संगठन विस्तार, सदस्यता व्यवस्थापन तथा आगामी रणनीतिका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो।
नगर सभापति मधु पोख्रेल को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु पोखरेल ले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma