कपिलवस्तु । मनकामना सामुदायिक वन उपभोक्ता समूहको १३औँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा समूहका अध्यक्ष विनोद कुँवरले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरोज शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालयका प्रमुख गणेशबहादुर खड्काले वन संरक्षणमा उपभोक्ताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। वातावरणीय सन्तुलन कायम राख्न वनको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उहाँले वन संरक्षण गर्नु भनेको वनको सदुपयोग गर्नु पनि भएको बताउनुभयो।
वन जोगाएर मात्रै वनबाट प्राप्त हुने विभिन्न फाइदा लिन सकिने भएकाले उपभोक्ताले वन संरक्षणसँगै यसको उचित सदुपयोगमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा वडा अध्यक्ष खिमविक्रम केसीले मनकामना सामुदायिक वनले पछिल्लो समय राम्रो काम गर्दै आएको बताउनुभयो। विगतको समितिसँग आवश्यक छलफल गरी उपभोक्ताबीच देखिएका आर्थिक विषयसम्बन्धी विवादलाई समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा वन अधिकृत मोहनप्रसाद गजुरेललगायतको उपस्थिति रहेको थियो। साधारणसभामा वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा उपभोक्ताको हितका विषयमा छलफल गरिएको थियो । एकीकृत सुरही सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष फानेश्वर न्यौपाने लगायतले बोल्नुभएको थियो ।


प्रतिक्रिया