कपिलवस्तुको क्षेत्र नं. ३ (ख)बाट प्रदेश ५ को प्रदेश सभा सदस्य रहेका विरेन्द्र कुमार कनोडिया प्रदेश ५ को प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा चयन भएका छन् ।
मंगलबार बुटवलमा बसेको नेपाली काग्रेसको संसदीय दलको वैठकले कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेका थिए ।
गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए । कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए ।दलको नेता चयन भएपछि अनलाइनखबरसंग संक्षिप्त प्रतिक्रिया दिंदै कनौडियाले अब प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न भूमिका खेल्ने बताए ।प्रदेश सभामा विपक्षी दलको भूमिका कमजोर र प्रभावहीन रहेको भन्दै स्वयं कांग्रेस नेता र कार्यकर्ताहरुले आलोचना गर्दै आइरहेका छन् ।

0Shares