Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सिन्धुपाल्चोकको लिदी पहिरो : मृतकको संख्या १३ पुग्यो

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अनलाइनखबरसँग भने, ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि रिपोर्टिङ भएको छ । सायद अहिलेसम्म बाहिर निकाली पनि सक्यो होला ।’

लिदी गाउँको तामाङ वस्तीमा शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट शुक्रबार नै ११ जनाको शव निकालिएको थियो । उनीहरुको सनाखत भइसकेको र सदगदको प्रक्रियामा गइसकेको प्रजिअ ढकालले बताए ।

लिदीको तामाङ वस्तीका केही व्यक्तिहरु अझै बेपत्ता छन् । उनीहरुको खोजी पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटाइएको छ ।

थप राहत सामग्री पठाइयो

पहिरोबाट पीडित भएकाहरुलाई शनिबार पनि राहत सामग्री पठाइएको प्रजिअ ढकालले बताए । उनका अनुसार शनिबार खाद्यान्न, अस्थायी शौचालय, खानेपानीका पाइप लगायतका सामग्री लिदीमा पठाइएको छ । ‘हरेक परिवारलाई एक–एक बोरा चामल, दाल, नुन, तेल लगायतका सामग्रीहरु पठाएका छौं,’ प्रजिअ ढकालले भने ।

शुक्रबारै पनि पीडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको थियो । सभामुख अग्नि सापकोटाको पहलमा खाद्यान्नका साथै टेन्ट, ओढ्ने, ओछ्याउनेलगायतका सामग्री वितरण गरिएको थियो । यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलले दुई लाख नगद हस्तान्तरण गरेका थिए ।

सभामुख सापकोटा र गृहमन्त्री थापासहितको टोलीले शुक्रबार पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । गृहमन्त्री थापाले लिदीको वस्तीलाई स्थानान्तरण गरिने पनि बताएका छन् ।

पुनर्निर्माण प्राधिकरणले बस्ती स्थानान्तरण गरिदिनुपर्छ : प्रजिअ ढकाल

२०७२ सालको भूकम्पमा सो क्षेत्रको जमिन कमजोर बनेकाले बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव भौगर्भविदहरुले सरकारलाई दिएका थिए । स्थानीयवासी र गाउँपालिकाले पनि बस्ती स्थानान्तरणको पहल गरिदिन जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरेका थिए । तर स्थानीयको आग्रहलाई बेवास्ता गर्दा अहिलेको वर्षामा ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तत्काल बस्ती स्थानान्तरण नगरिदिँदा ठूलो क्षति भएको बताए । ‘वर्षे सिजन अझै बाँकी छ । यो ठाउँमा मात्र होइन, अरु ठाउँमा पनि पनि पहिरो जाला । त्यसैले पुनर्निर्माण प्राधिकरणले बस्ती स्थानान्तरण गरिदिनुपर्यो,’ प्रजिअ ढकालले भने, ‘पुनर्निर्माण प्राधिकरण सरकारले ठूलो लगानी गरेर खोलेको निकाय हो । उसले नगरे अरु कसले गर्दिन्छ र ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma